काठमाडौं । विश्वका ठूला पूँजीवादी कम्पनीहरूमध्ये फेसबुक र गुगललाई धेरैले आलोचना गर्ने गर्छन् । तर यी कम्पनीहरूले विश्वभर असीमित सुविधा दिएको विषयलाई पनि बेवास्ता गर्न मिल्दैन भन्ने धारणा नारायण गाउलेले प्रस्तुत गर्नुभएको छ ।
गाउलेका अनुसार गुगल अहिले विश्वकै दोस्रो ठूलो कम्पनी भए पनि यसको प्रमुख उत्पादन प्रयोग गर्दा प्रयोगकर्ताले कुनै शुल्क तिर्नु पर्दैन । युट्युब, गुगल म्याप, क्रोम ब्राउजर, गुगल सर्च र जिमेलजस्ता उत्पादनले अरबौं मानिसलाई दैनिक रूपमा सुविधा दिइरहेको उनले बताएका छन् ।
“ईमेल खाता सञ्चालन गर्न, त्यसलाई सुरक्षित राख्न र बर्सौंसम्म डेटा स्टोर गर्न ठूलो खर्च लाग्छ । तर त्यो खर्च प्रयोगकर्ताले तिर्नु पर्दैन,” गाउलेले टिप्पणी गर्नुभएको छ ।
त्यस्तै, फेसबुकमार्फत प्रयोगकर्ताले आफ्ना हजारौं फोटा, भिडियो र व्यक्तिगत डाटा सुरक्षित राख्न सक्ने सुविधा प्राप्त गरिरहेका छन् । “मोबाइल कम्पनीले एक मिनेटको कुरा गर्दा पैसा लिन्छ तर फेसबुक मेसेन्जर वा ह्वाट्सएपबाट अनलिमिटेड कुरा गर्न सकिन्छ । यो आफैंमा ठूलो सुविधा हो,” गाउलेको भनाइ छ ।
उनले फेसबुक वा गुगलले गरिबको पैसा उठाएर धनीलाई धनी बनाएको होइन, बरु प्रयोगकर्ताले स्वेच्छाले दिएका साधारण जानकारी र रुचिका आधारमा विज्ञापनमार्फत आम्दानी गर्ने गरेको स्पष्ट पारेका छन् ।
गाउलेका अनुसार यी कम्पनीहरूले आम मानिसलाई सिर्जनात्मकता र क्षमताका आधारमा विश्वमै परिचित हुन सक्ने अवसर दिएका छन् । “नेपालमै रहेर, आफ्नै रुचि र खुशीको काम गरेर पनि लाखौं रुपैयाँ कमाउन सकिन्छ । हिमाल र पहाडका भिडियो अपलोड गरेर विदेशको कमाइभन्दा बढी कमाउन सकिन्छ,” उनले उल्लेख गरेका छन् ।
फेसबुक, युट्युब, अमेजन र टिकटकजस्ता प्लेटफर्ममार्फत लाखौं मानिसले रोजगारी र आयको स्रोत पाएको, नयाँ कलाकार जन्मिएका र समाजमा सुशासनदेखि संस्कृतिको पुनर्जीवनसम्म सम्भव भएको उनको भनाइ छ ।
तर गाउलेले यस्ता प्रविधिले ल्याएका विकृति र कानुनी जटिलताहरू पनि नकार्न नहुनेमा जोड दिएका छन् । “यीले दिएको असीमित सामाजिक–आर्थिक लाभका आधारमा मात्र निष्कर्ष निकाल्नुपर्छ,” उनले भने ।
नेपाललाई फेसबुकले मोनेटाइजेशनको योग्य देशको सूचीमा राखेको प्रसंगमा उनले सरकारलाई धन्यवाद दिंदै भविष्यमा पनि संवादात्मक ढंगले नीतिगत निर्णय गर्न आग्रह गरेका छन् ।