काठमाडौं, नेपाल – नेपालको क्यान्सर उपचार क्षेत्रमा एक ऐतिहासिक सफलता हासिल गर्दै पाटन अस्पतालका मेडिकल अङ्कोलोजिस्ट डा. अरुण शाही क्यान्सर इम्युनोथेरापीमा विशेष कोर्स पूरा गर्ने पहिलो नेपाली चिकित्सक बन्न सफल भएका छन्।
SPECIAL REPORT PREPARED BY HB TAMRAKAR 👇

सन् २०२४ मा कोर्स सम्पन्न गरेका डा. शाहीलाई क्यान्सर उपचारसम्बन्धी विश्वव्यापी संस्था सोसाइटी फर इम्युनोथेरापी अफ क्यान्सर (SITC) ले हालै SITC-G Certificate प्रदान गरेको हो। यो सर्टिफिकेट प्राप्त गर्ने उनी पहिलो नेपाली हुन्, जसले नेपालको चिकित्सा क्षेत्रमा एक विशिष्ट कीर्तिमान स्थापित गरेको छ।

एसआईटीसीले डा. शाहीको उपलब्धिलाई नेपालमा क्यान्सर उपचारको आधुनिकतम विधि ‘इम्युनोथेरापी’ को विकासको दिशामा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा व्याख्या गरेको छ। यसले देशको स्वास्थ्य प्रणालीमा आशाको नयाँ उज्यालो पारेको विश्वास गरिएको छ।
इम्युनोथेरापी क्यान्सर उपचारको एक नवीन र वैज्ञानिक विधि हो जसले बिरामीको प्राकृतिक रोग प्रतिरोधात्मक प्रणाली (immune system) लाई सक्रिय पारेर शरीरभित्रै रहेका क्यान्सर कोशिकाहरूलाई नष्ट गर्ने क्षमता प्रदान गर्छ।

परम्परागत केमोथेरापी वा रेडियोथेरापी जस्तो बाह्य हस्तक्षेपको साटो, इम्युनोथेरापी शरीरकै प्रतिरक्षा शक्तिलाई सुदृढ बनाउने भएकाले यो कम प्रभावकारी साइड इफेक्ट भएको, तुलनात्मक रूपमा दीर्घकालीन असर पार्ने विधि मानिन्छ।
नेपालका लागि उपलब्धिपूर्ण संकेत
डा. अरुण शाहीको यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोलेको छ। अब नेपालमै अन्तर्राष्ट्रिय स्तरको इम्युनोथेरापी उपचार सम्भव हुने विश्वास चिकित्सकहरूले व्यक्त गरेका छन्।

देशका थुप्रै क्यान्सर रोगीहरू उपचारका लागि विदेश धाउनुपर्ने अवस्था अन्त्य गर्न इम्युनोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेषतः कठिन अवस्थामा रहेका बिरामीहरूको जीवनरक्षा र जीवनस्तर सुधारमा यो विधि गेम चेन्जर बन्ने विश्वास गरिएको छ।
डा. अरुण शाहीप्रति सम्मान
क्यान्सर जस्तो संवेदनशील रोगको उपचारमा अग्रसर भई देशमै आधुनिक विधि भित्र्याउने यो पहलका लागि डा. शाहीलाई देशभरबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ।उहाँको यो सफलताले अब नेपालमा पनि विश्वस्तरीय उपचार विधिहरूको पहुँच विस्तार हुने आशा बलियो बनाएको छ।