[न्यूयोर्क, अमेरिका] — नेपाली समुदायमा प्रभावशाली भूमिका खेल्दै आएका वरिष्ठ समाजसेवी अनिल पाण्डेयले सामाजिक सञ्जालमार्फत गौरव र उत्साह पोख्दै एक प्रेरणादायी सन्देश दिएका छन्। नेपाली कम्युनिटी सेन्टरको पुनः अध्यक्षमा प्रितेश कार्की निर्वाचित भएकोमा बधाई दिँदै उनले समुदायलाई एकताको सन्देश दिएका छन्।
पाण्डेयले लेखेका छन्, “मेरो मित्र प्रितेश कार्की फेरी पनि नेपाली कम्युनिटी सेन्टरको पुनः अध्यक्ष हुनुभएकोमा उहाँलाई बधाई छ!” साथै, उनले आफूले सुरु गरेको अभियानले अहिले आफ्नै भवन खरिद गरेको देख्दा छाती गर्वले फुलेको उल्लेख गरेका छन्।
पाण्डेय, जो कम्युनिटी सेन्टरका पहिलो ट्रस्टी समेत रहेका थिए, भन्छन्, “मैले सुरु गरेको यो अभियानको उत्तरोत्तर प्रगति हेर्दा गर्व लाग्छ।” उनले नव निर्वाचित अध्यक्ष सहित सम्पूर्ण टिमलाई बधाई दिंदै, समाजको एकता र साझा हितका लागि सहकार्यको महत्व जोड दिएका छन्।
उनले समाजलाई जोडेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै लेखेका छन्, “समाज फुटाएर होइन, जुटाएर अगाडि बढ्नु पर्छ। र, विगतलाई ईखको रूपमा होइन, पाठको रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ।”
पाण्डेयले हालैको सफलता उल्लेख गर्दै लेखेका छन् कि नेपाली समुदायले यही वर्षभित्र तीन महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ – मुक्तिनाथ मन्दिर, कम्युनिटी भवन, र कांसुलेट अफिस (दूतावास सेवा केन्द्र)।
उनी भन्छन्, “अब यी तीनवटै सम्पत्तिको रक्षा र संरक्षणमा मिलेर अघि बढ्नु आवश्यक छ।” उनले सबैमा सहकार्य, एकता र जिम्मेवारीको भावना जागृत गराउन आह्वान गरेका छन्।
नेपाली डायस्पोरामा लामो समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएका अनिल पाण्डेयको यो अभिव्यक्तिले अमेरिका लगायत विश्वभर रहेका नेपालीहरूलाई समुदायको साझा सपनातर्फ एकताबद्ध गराउने विश्वास लिइएको छ।