अमेरिका निवासी वरिष्ठ समाजसेवी हेम थापाले सामाजिक सञ्जालमार्फत व्यक्तिगत पीडा र गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। लामो समयदेखि अमेरिका बस्दै आएका थापाले आफन्त र चिनेजानेका धेरैले सम्बन्ध पैसासँग मात्र जोडेको अनुभव सुनाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “अपवाद बाहेक मलाई सम्झिने, माया गर्ने, मसँग जोडीने भनेका पैसाका लागि मात्र रहेछन्।” उनले थप लेखेका छन्, “जबसम्म पैसा दिन्छु, सबै हासि–खुसी रहन्छन्, दिनदिनै फोन गर्छन्, तर जब पैसा दिन छोड्छु, तिनै आफन्तहरू शत्रुजस्तै व्यवहार गर्न थाल्छन्।”
थापाले आफन्तको व्यवहारप्रति गहिरो आक्रोश व्यक्त गर्दै भनेका छन्, “पैसा दिए पनि चित्त बुझ्दैन, करोडौं दिए पनि त्यसको गुन त मानिन्न, उल्टै उसले यत्ति मात्रै दियो भन्ने कुरा मात्र गरिन्छ।” उनले यस्ता स्वार्थी व्यवहारका कारण नेपाल फर्कन मन नलागेको र सामाजिक सञ्जालबाट पनि टाढा रहन मन लाग्न थालेको उल्लेख गरेका छन्।
समाजसेवामा लामो समयदेखि सक्रिय रहेका थापाले अमेरिका लगायत विभिन्न स्थानमा अनेक सहयोग र सद्भाव प्रदर्शन गर्दै आएका छन्। उनले स्वास्थ्य, शिक्षा, विपद् राहत लगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्। तर पछिल्लो समय आफन्त र समाजबाटै पाएको व्यवहारले उनलाई गम्भीर सोचमा पारिदिएको देखिन्छ।
उनको यो स्टाटसले प्रवासमा बसेका धेरै नेपालीहरूका मनको पीडा उजागर गरिदिएको छ। पैसाले मात्र सम्बन्ध टिक्ने, माया नाटकीय बन्ने र अपेक्षाले मात्र जोडिएको सामाजिक संरचना प्रतिको निराशा उनले शब्दमा पोखेका छन्।
थापाले लेखेको यो स्टाटस अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भइरहेको छ। धेरैले उनको गुनासोप्रति सहानुभूति प्रकट गरेका छन् भने केहीले नेपाली समाजमा गहिरिँदै गएको भौतिकतावादी प्रवृत्तिप्रति चिन्ता समेत व्यक्त गरेका छन्।