बेल्जियम – २०८२ असार ३ गते
बेल्जियमस्थित मगर संघको छैठौं अधिवेशनबाट कल्पना मगर संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन्। अध्यक्ष पदमा अन्य कुनै उम्मेदवार नउठेपछि निर्वाचन समिति द्वारा उनलाई सर्वसम्मत रूपमा विजयी घोषणा गरिएको हो।
ब्रसेल्समा सम्पन्न उक्त अधिवेशनमा नयाँ कार्यसमिति पनि चयन गरिएको छ। जसअनुसार हिमाल बुढा मगर उपाध्यक्ष, सन्दर्भ पुन र कृष्ण कुमारी पुन सचिव, दीपक थापा कोषाध्यक्ष, क्षेत्र थापा सह–कोषाध्यक्ष र अमर राना सांस्कृतिक संयोजक पदमा चयन भएका छन्।
कार्यक्रममा नेपालका बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्साल प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। साथै, अन्तर्राष्ट्रिय मगर महासंघ तथा एनआरएनए बेल्जियमका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्वाचित अध्यक्ष कल्पना मगरले सम्पूर्ण मगर समुदायप्रति आभार व्यक्त गर्दै, “महिला नेतृत्वको सम्मान र मगर समुदायको समावेशी र सशक्त भविष्यका लागि यो कार्यकाल समर्पित हुनेछ,” भन्ने प्रतिबद्धता व्यक्त गरिन्।
यो निर्वाचनले प्रवासमा रहेको नेपाली मगर समुदायमा महिला नेतृत्व र समावेशिताको सशक्त उदाहरण प्रस्तुत गरेको छ।