काठमाडौं, असार ४—नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्राङ्गण आज एक विशेष उत्सवस्थलमा परिणत भयो, जहाँ नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदको आयोजनामा ऐतिहासिक एक दिने “युवा वैज्ञानिक सम्मेलन–२०८२” भव्य रुपमा सुरु भएको छ। देशैभरिका २५० भन्दा बढी युवा वैज्ञानिक, अनुसन्धानकर्ता र प्रविधि प्रेमीहरू सहभागी यस सम्मेलनले नेपाली युवामा रहेको सम्भावनाको उजागर मात्र होइन, विज्ञान र प्रविधिको क्रान्तिमा प्रवेशको संकेतसमेत दिएको छ।
विज्ञानले बदल्नेछ राष्ट्रको मुहार : सभामुख दाहाल
सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान र प्रविधि विकासबिना राष्ट्र समृद्ध नहुने कटु यथार्थलाई पुनः पुष्टि गरे।
“विकशित राष्ट्रहरूको आधार समय सापेक्ष प्रविधिको सही अवलम्बन हो, हामीले पनि यही बाटो समात्नुपर्छ,” — दाहालले गर्जन गरे।
उनले नेपाली युवालाई ‘सपना देख्ने मात्र होइन, सपना साकार पार्ने वैज्ञानिक नेतृत्वकर्ता’ बन्न प्रेरित गरे।
नविनतम् आविष्कारलाई उद्यमशीलतासँग जोड्नुपर्छ : डा. अच्युत वाग्ले
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले सम्मेलनलाई प्रेरणाको स्रोत बनाउँदै विज्ञानको उपलब्धिलाई व्यवसायिक दृष्टिकोणबाट प्रयोग गर्नुपर्नेमा जोड दिए।
“विज्ञानले विकास ल्याउँछ तर जोखिम पनि साथ ल्याउँछ, नयाँ पुस्ताले दुबैलाई सन्तुलनमा राख्न सिक्नुपर्छ,” — वाग्लेले युवाहरुलाई सन्देश दिए।
बजेट छैन, सपनामा विज्ञान! : प्रा.डा. दिलिप सुब्बा
नास्टका उपकुलपति प्रा.डा. दिलिप सुब्बाले भावुक शैलीमा वैज्ञानिक शोध र आविष्कारलाई प्राथमिकतामा राख्न आग्रह गरे।
“देशको विकास विज्ञान विना असम्भव छ, तर वैज्ञानिकहरूलाई राज्यको ढोका अझै टाढा छ।” — सुब्बाले भने।
उनको भनाइले देशको विज्ञान नीति प्रतिको सरकारको गम्भीरता माथि ठुलो प्रश्नचिन्ह खडा गरिदिएको छ।
युवाको जोश र जाँगर विज्ञानमै छ : सुरेन्द्र बस्नेत
कार्यक्रमका सूत्रधार तथा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सम्मेलनको बहुआयामिक उद्देश्य प्रस्तुत गर्दै भने,
“युवाले गर्ने अनुसन्धान, निर्माण र आविष्कार नै भविष्यको मार्गनिर्देशन हो। हामी प्रत्येक वर्ष यस्तो सम्मेलन गरेर वैज्ञानिक सोचलाई राष्ट्रव्यापी बनाउन प्रतिबद्ध छौं।”
उनका अनुसार, सम्मेलनले नवदित युवा वैज्ञानिकहरूलाई मञ्च प्रदान गर्दै, अनुभव आदान–प्रदान, विषय विज्ञहरूसँग सिधा संवाद र प्रेरणा ग्रहणको ऐतिहासिक अवसर प्रदान गरिरहेको छ।
एआईदेखि ड्रोनसम्म : प्रविधिको बहार, युवाको उच्च बहस
सह-आयोजक रोबोटिक्स एसोसिएसन नेपालका अध्यक्ष विकास गुरुङले यो सम्मेलनलाई प्रविधिको ‘कर्मभूमि’को संज्ञा दिँदै भने,
“ड्रोन, आर्टिफिसियल इन्टेलिजेन्स, डेटा, रोबोटिक्स — यी सबैमा नेपाली युवा अग्रपंक्तिमा छन् भन्ने प्रमाण आजको सम्मेलन हो।”
उनका अनुसार, सम्मेलनमा विषयगत प्यानल छलफल, थिमेटिक प्रजेन्टेसन, इनोभेसन डेमो, तथा स्टार्टअप मोडल प्रदर्शनजस्ता नविन प्रयोग गरिएको छ।
के-के देखियो सम्मेलनमा ?
✅ सर्जनशील आविष्कारहरू — नेपाली युवाले निर्माण गरेका स्वदेशी ड्रोन, स्मार्ट फोहर व्यवस्थापन प्रणाली, बाढी पूर्वानुमान उपकरण, स्मार्ट स्टिक, तथा ऊर्जा दक्ष उपकरणहरू प्रदर्शन गरिएका छन्।
✅ प्यानल छलफलहरू — “नेपाली परिप्रेक्ष्यमा एआईको सम्भावना”, “ग्लोबल वार्मिङ र वैज्ञानिक उत्तर”, “स्पेस टेक्नोलोजीमा नेपालको भविष्य” जस्ता गहिरा छलफल।
✅ प्रविधिको प्रदर्शनी — विभिन्न विश्वविद्यालय, स्टार्टअप र युवा वैज्ञानिकहरूको प्रदर्शनी स्टलले सम्मेलनलाई अन्तर्राष्ट्रियस्तरको स्पर्श दिएको छ।
ग्लोबल स्तरमा नेपाल : सपना होइन, सम्भावना
वास्तवमा, यो सम्मेलनले स्पष्ट संकेत दिएको छ — अब नेपाली युवाले केवल विदेशको प्रविधि हेरेर चित्त बुझाउने होइन, आफैं प्रविधिको नव आविष्कारकर्ता बन्ने युग सुरु भएको छ। नेपाल अब विज्ञानमा विश्वसँग प्रतिस्पर्धा गर्ने युगतर्फ पाइला चाल्दैछ।
सन्देश स्पष्ट छ
विज्ञान राष्ट्रको मेरुदण्ड हो, युवा वैज्ञानिकहरू त्यस मेरुदण्डका सजीव कशेरुका हुन्।
विज्ञानमा लगानी गरौं, युवामा भरोसा गरौं। तिनै हातहरूमा हो नेपालको समृद्ध भविष्यको शिलान्यास।
विशेष क्षणहरू :
- उद्घाटन समारोहको भव्य झलक
- प्रदर्शनी स्टलमा युवा वैज्ञानिकहरूको जोश
- रोबोटिक्स प्रयोग देखाउँदै विद्यार्थीहरू
- विज्ञानप्रतिको निस्वार्थ समर्पण बोकेका अनुहारहरू