मिति: २०८२ जेष्ठ १ गते
मोरङ, कानेपोखरी गाउँपालिका वडा नं. ६ की २३ वर्षीया तुलसा श्रेष्ठलाई स्थानीय दलाल घनश्याम खतिवडाले ललाइफकाइ गरी काठमाडौं पुर्याई एक हप्ता राखेर पासपोर्ट तयार गराई दुबई हुँदै ओमान र अन्ततः कुबेत पुर्याई बेचिएको घटनाले समाजमा मानव बेचबिखनको भयावह वास्तविकता पुनः उजागर गरेको छ।
तुलसाले दिएको जानकारी अनुसार, कुबेत पुगेपछि उनलाई एक घरेलु कामदारको रूपमा बेचिएको थियो जहाँ उनले शारीरिक र मानसिक यातनाको सामना गर्नुपर्यो। उनलाई समयमै खाना नदिने, बिरामी हुँदा उपचार नगर्ने, बोलेको नमान्दा “मार्दिन्छु, काट्दिन्छु” जस्ता धम्की दिने गरिएको थियो। उनले अत्यधिक मानसिक तनावमा नराम्रो काम गर्न समेत बाध्य पारिएको खुलासा गरेकी छिन्।
उनीलाई बेच्ने कार्य, मानव तस्करीको शृंखलाबद्ध स्वरूपमा भएको पुष्टि तुलसाको भनाइबाट प्रस्टिन्छ। कुबेतमा नेपाली चेलीहरूलाई सुन्दरताको आधारमा ६०० दिनारदेखि १५०० दिनारसम्ममा किनबेच गरिन्छ। काम गर्न नसकेमा अरबिहरूले तिरेको मूल्य तिर्न नसक्ने अवस्था आएमा ती महिलाहरूलाई कैदीसरह ताल्चा लगाई थुनिएको तुलसाको अनुभव छ।
यस पीडादायी अवस्थाबाट बाहिर ल्याउनका लागि लामो समयदेखि कुबेतमा रहेकी समाजसेवी सुनिता मगरले सक्रियता देखाउँदै सम्बन्धित निकायहरूमा तत्काल पहल गरी तुलसाको उद्दार गर्ने प्रतिबद्धता जनाएकी छन्।
मानव बेचबिखनविरुद्धको यो घटनाले राज्य संयन्त्र र नागरिक समाज दुवैलाई गम्भीर ढंगले सोच्न बाध्य बनाएको छ। दोषी दलाललाई कडा कारबाही गरी यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक छ।