काठमाडौं — सामाजिक न्याय, समानता र मानव अधिकारका लागि जीवनभर संघर्ष गरेका महान् चिन्तक, संविधान निर्माता तथा दलित मुक्ति आन्दोलनका अग्रदूत डा. भीमराव अम्बेडकरको १४३४औं जयन्तीको अवसरमा नेपाल-भारत दलित मैत्री संगठनले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ।

भव्य तयारीका साथ हुन गइरहेको उक्त ऐतिहासिक कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय एन बहादुर शाही ठकुरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। समारोह नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डप, काठमाडौंमा यही बैशाख २ गते (14 April 2025) सोमबार बिहान ११:३० बजे सुरु हुनेछ।
नेपाल–भारत दलित मैत्री संगठनका अध्यक्ष ओम प्रकाश विश्वकर्माको अध्यक्षतामा आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ट व्यक्तित्वहरू, समाजसेवी, बुद्धिजीवी, राजनीतिक विश्लेषक, मानव अधिकारकर्मी तथा युवा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा डा. अम्बेडकरको विचार, दर्शन र योगदानमाथि विश्लेषणात्मक चर्चा गरिनुका साथै सामाजिक रुपान्तरणमा उनको भूमिकालाई पुनः स्मरण गरिनेछ। साथै, दलित समुदायका हित र समानताको पक्षमा अझ प्रभावकारी पहल गर्नुपर्ने विषयमा बहस र संकल्प समेत गरिनेछ।
नेपाल-भारत दलित मैत्री संगठनले यस अवसरमा सम्पूर्ण आमन्त्रित अतिथिहरू तथा सामाजिक परिवर्तनका पक्षधरहरूलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई एक ऐतिहासिक एकता प्रदर्शन गर्न हार्दिक आग्रह गरेको छ।