काठमाडौं — सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध युवादेखि सर्वसाधारणसम्म असन्तुष्टि बढिरहेको छ। यसैबीच युवा व्यवसायी दिपा सिम्खडाले प्रधानमन्त्रीलाई “बुवासमान” ठानी भावुक तर शक्तिशाली शब्दमा खुलेआम पत्र लेखेकी छिन्। उनले आफूलाई विरोधी नभई “पीडित छोरी” का रूपमा प्रस्तुत गर्दै लाखौँ नेपालीको पीडाबारे प्रधानमन्त्रीलाई स्मरण गराएकी छन्।
सिम्खडाले पत्रमा प्रश्न उठाएकी छन्—“के यो देश तपाईंको मात्रै हो र बुवा? लाखौँ युवा आफ्नो करियर, कला र व्यवसाय YouTube, Facebook, Instagram जस्ता प्लेटफर्ममा निर्माण गर्दै थिए। नेपालमा करिब ३० लाखभन्दा बढी मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अनलाइन प्लेटफर्ममा निर्भर छन्।”
उनले सामाजिक सञ्जालमा मात्र नभई Messenger मार्फत टाढा रहेका छोराछोरीसँग बोल्न सिकेका आमाबुबा समेत यो निर्णयले एक्लो पारिएको बताइन्।
“विदेशमा गएका सन्तानसँग बोल्ने रहरले काँप्दै काँप्दै Messenger चलाउन सिकेका आमाबुबालाई तपाईंको प्रतिबन्धले एक झट्कामै फेरि एक्ल्याइदियो,” उनको पत्रमा उल्लेख छ।
सिम्खडाले सामाजिक सञ्जालमार्फत नागरिकले सत्ता र नेताको अकुत सम्पत्ति र असक्षमतालाई खुलाउन थालेपछि सरकार भयभीत भएको आरोप लगाइन्।
“तपाईंलाई सडकमा उत्रिएका जनताभन्दा पनि यी एपमा जनताले बोलेको सत्य बढी खतरनाक लाग्यो। त्यसैले तपाईंहरूले प्लेटफर्मनै बन्द गरेर जनताको मुखमा टेप लगाउने प्रयास गर्नुभयो,” भन्दै उनले आलोचनालाई दबाउने प्रयास उल्टै घातक हुने चेतावनी दिइन्।
उनले प्रधानमन्त्रीलाई प्रत्यक्ष सम्बोधन गर्दै लेखेकी छन्—
“नेपाल बन्छ आवाजलाई जगाएर, दबाएर होइन। लोकतन्त्रको अर्थ बुझ्नुहोस् र याद राख्नुहोस्—यो डिजिटल युग हो बुवा, विचारलाई जेल हाल्न सकिँदैन, आवाजलाई बन्द गर्न सकिँदैन।”
दिपा सिम्खडाको यो भावुक र तीखो पत्र सामाजिक सञ्जालमै व्यापक रूपमा फैलिएको छ। उनका शब्दहरूले सरकारको निर्णयले पारेको प्रभाव मात्र होइन, डिजिटल युगको वास्तविकता र नागरिकको पीडा पनि उजागर गरेको देखिन्छ।