काठमाडौं, साउन १८, २०८२—नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व संविधानसभा सदस्य जगदीश्वर नरसिंह केसीले वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारलाई परिवर्तन गर्दै नेपाली कांग्रेसले वैकल्पिक सरकारको नेतृत्व गर्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्।
उनले भने,
“देश संकटमा छ, भ्रष्टाचार मौलाएको छ, विधिको शासन उपेक्षित छ, यस्तो अवस्थामा ओली नेतृत्वको सरकारलाई हटाएर कांग्रेसले अग्रसर भएर सरकार बनाउनु अपरिहार्य भएको छ।”
उनको विचारमा, वर्तमान असमञ्जस, निर्णयविहीनता र गुटगत मनोवृत्तिबाट कांग्रेसले उकासिन शेखर कोइरालाको नेतृत्व चाहिन्छ जसले न केवल पार्टीलाई बलियो बनाउँछ, तर राष्ट्रलाई स्थायित्व र सुशासनको दिशामा डोर्याउन पनि सक्षम हुन्छ।
जगदीश्वर नरसिंह केसी नेपाली कांग्रेसका सशक्त विचारक, नीतिनिर्माता र जनताको आवाजमा निष्ठावान व्यक्तित्वको रूपमा परिचित छन्। संविधान निर्माणदेखि हालसम्म उनले विभिन्न संवेदनशील राष्ट्रिय विषयमा सक्रिय भूमिका निर्वाह गरेका छन्।
भेटका क्रममा उनले आगामी राजनीतिक समीकरण, संसदभित्रको भूमिका, र कांग्रेसभित्रको सुधारको आवश्यकताबारे समेत व्यापक विचार राखेका थिए। उनले देशका नागरिकलाई निराश हुन नदिई कांग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका थिए।
उनका अनुसार,
“अब गुम्सिएको नेतृत्व होइन, प्रस्ट बोल्ने, निर्णय गर्न सक्ने र देशको राजनीतिक संकटलाई हल गर्ने नेताको खाँचो छ। त्यसका लागि कांग्रेसले ढिलाइ गर्नु हुँदैन।”
उनको यो भनाइले नेपाली कांग्रेसभित्र नेतृत्वको बहसलाई थप चर्काएको देखिएको छ। विशेषगरी वर्तमान नेतृत्वप्रति असन्तुष्टि र नयाँ पुस्ताप्रति उठिरहेको अपेक्षाबीच शेखर कोइरालालाई अगाडि ल्याउने आवाज थप बलियो बन्दै गएको छ।