काठमाडौं, असोज ३० ।नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको विगत, वर्तमान र भविष्यबारे स्पष्ट र आत्मालोचनात्मक धारणा राख्दै तीखा प्रश्न उठाएका छन् । बैठकमा बोल्दै उनले कांग्रेस अहिले रुपान्तरणको संघारमा पुगेको बताउँदै “हामी सच्चिन तयार छौं कि छैनौं ?” भन्ने मूल प्रश्न अघि सारेका छन् ।
बैठकको सुरुवातमा कोइरालाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बधाई दिँदै, सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजू देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
🔹 पहिलो भाग : “हामी कहाँ चुकेँ ?”
कोइरालाले पार्टी विगतमा असफल भएको स्पष्ट स्वीकार गर्दै कांग्रेसभित्र गहिरो आत्मसमीक्षा आवश्यक रहेको बताए ।
उनले भने, “हामी चुकेकै हौं, असफल भएकै हौं । परिणामले देखाइसक्यो । अब प्रश्न हो — किन र कसरी चुक्यौं ?”
उनले विभिन्न बुँदामा गल्तीहरूको सूची प्रस्तुत गरेः
- नातावाद र परिवारवादले पार्टी र देशमा विकराल रूप लिएको,
- गठबन्धनको गलत प्रयोगले पार्टीलाई कमजोर बनाएको,
- नेतृत्वको निजी महत्वाकांक्षाले कांग्रेसलाई बन्दी बनाएको,
- पद पाएपछि जनताबाट टाढिने प्रवृत्तिले पार्टीलाई क्षति पुर्याएको,
- भ्रष्टाचार र अवसरवादले विचार, सिद्धान्त र नीति सबैलाई दूषित बनाएको,
- पुराना पात्रले नयाँ पुस्तालाई मौका नदिएको,
- र एमालेसँगको गठबन्धनको समयमा कांग्रेस “सीमित नेताको समूह”मा सीमित भएको उल्लेख गरे ।
उनले भने, “रुख जतिसुकै पुरानो किन नहोस्, हरेक वसन्तमा नयाँ पालुवा पलाउँछ । कांग्रेसमा नयाँ पालुवा पलाउन दिइएन, त्यसैले जनताले वैकल्पिक शक्ति खोज्न थालेका हुन् ।”
🔹 दोस्रो भाग : “अब के गर्ने ?”
कोइरालाले अबको बाटो सुधार, परिवर्तन र रुपान्तरणको यात्रा हुने स्पष्ट गर्दै भने,
“२४ गते हामी सक्कियौं, २५ गतेपछि पुर्नजीवित भयौं । अब सच्चिनैपर्छ, नत्र फेरि अर्को २४ गते आउँछ ।”
उनले ठोस पाँच बुँदे सुझाव पनि प्रस्तुत गरेः
- भ्रष्टाचारविरुद्ध कांग्रेसको अग्रसरता:
जेन्जी आन्दोलनको मूल मागलाई आत्मसात गर्दै कांग्रेसले भ्रष्टाचार नियन्त्रणलाई पहिलो एजेन्डा बनाउनु पर्नेमा जोड दिए ।
“कांग्रेसले भ्रष्टाचारसँग सम्बन्ध विच्छेदको घोषणा गर्नुपर्छ,” उनले भने ।
- पूर्ण महाधिवेशनको माग:
“अब विशेष होइन, पूर्ण महाधिवेशन चाहिन्छ । पार्टीमा आमूल सुधार र रुपान्तरणको आधार महाधिवेशन नै हो,” कोइरालाले भने ।
- नयाँ पुस्तालाई मौका:
निश्चित पटकसम्म सांसद, मन्त्री र प्रधानमन्त्री भएकाहरुलाई पाँच वर्षका लागि विश्राम दिएर नयाँ पुस्तालाई अघि ल्याउन प्रस्ताव गरे ।
- भ्रातृ संगठनहरूको पुनर्गठन:
उनले भने, “हाम्रा भ्रातृ संगठनहरू ग्यारेजमा थन्किएका गाडीजस्ता बनेका छन्, अब मापदण्डका आधारमा नयाँ ढंगले गठन गर्नुपर्छ ।”
- उच्चस्तरीय अनुगमन समिति गठन:
पार्टीभित्र शुद्धता कायम गर्न स्वतन्त्र अनुगमन समिति गठन गर्न सुझाव दिँदै उनले भने,
“यो समितिमा गैर–राजनीतिक लब्धप्रतिष्ठित व्यक्तिहरू पनि हुन सक्छन्, जसले नेता–कार्यकर्ताको गतिविधि निगरानी गर्नेछन् ।”
🔹 अन्त्यमा
कोइरालाले देशको वर्तमान अस्थिर अवस्थाप्रति चिन्ता जनाउँदै भने,
“जेलबाट हजारौं कैदी भागेका छन्, हतियार लुटिएका छन्, जनजीवन त्रस्त छ । जेन्जी आन्दोलनको नाममा अपराध भइरहेको छ — त्यसलाई अलग्गै व्यवहार गर्न सरकारलाई कांग्रेसले दबाब दिनुपर्छ।”
अन्त्यमा उनले जोड दिए,
“कांग्रेस सच्चिनैपर्छ, रुपान्तरण गर्नैपर्छ । यही हाम्रो अन्तिम विकल्प हो ।”