लन्डन — नेपाली उद्यमी कुल आचार्यद्वारा सञ्चालित Holy Cow Fine Dine Restaurant ले England Business Awards 2025 मा लन्डन क्षेत्रको ‘Best Restaurant Award’ जित्दै ठूलो सफलता हासिल गरेको छ।

रेडिङ सहरमा आइतबार साँझ आयोजित उक्त प्रतिष्ठित अवार्ड कार्यक्रममा विजेताको घोषणा गरिएको थियो। ग्राहकको भोट, कम्पनीको कर प्रणाली, रोजगारी सिर्जना र समुदायप्रति योगदान जस्ता सूचकहरूका आधारमा अवार्ड विजेताहरूको छनोट गरिएको आयोजकले जनाएको छ।
‘कडा प्रतिस्पर्धाबीच यस्तो प्रतिष्ठित अवार्ड जित्नु हाम्रो लागि अत्यन्तै गर्वको विषय हो,’ होली काउ ग्रुपका अध्यक्ष कुल आचार्यले बताए। उनले अवार्ड जित्नका लागि भोट गरेर साथ दिने सबै ग्राहक, शुभेच्छु र सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरे।

आचार्यले भने, ‘यो अवार्ड हाम्रो सम्पूर्ण टिमको समर्पण, मेहनत र निरन्तरता प्रतीक हो। हामी नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा अझ फैलाउने प्रेरणा लिएका छौं।’
Holy Cow ग्रुपले लन्डनमा करिब २० वर्षदेखि नेपाली तथा भारतीय परिकारहरू मार्फत नेपाली स्वाद र आतिथ्यको परिचय दिंदै आएको छ। समूहका रेष्टुरेन्ट र टेकअवे शाखाहरूमा अहिले झन्डै १२० जना कर्मचारी कार्यरत छन्।
सन् १९६५ मा सुरु गरिएको यो पुरस्कार सुरुमा Queen’s Awards for Enterprise नामले चिनिन्थ्यो, जसलाई सन् २०२२ देखि King’s Awards for Enterprise भनिन थालिएको हो।
कुल आचार्य केवल सफल व्यवसायी मात्र होइनन्, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा प्रभावशाली समुदायिक नेता समेत हुन्। उनले सधैंँ नेपाली समुदायको पहिचान र सशक्तिकरणका लागि योगदान दिँदै आएका छन्।
लन्डनमा नेपाली स्वादको जित — होली काउको गौरव, सम्पूर्ण नेपाली समुदायको अभिमान। 🇳🇵🥇