प्रतिनिधि भेटघाट, अन्तरक्रिया तथा उज्यालो भविष्यका लागि प्रतिबद्धता
काठमाडौं, साउन ९ – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियानका अगुवा कुलमान घिसिङ आजदेखि अमेरिका, वेलायत र युरोपका विभिन्न सहरहरूमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुन प्रस्थान गरेका छन्। स्वतन्त्र नेतृत्व छविका रूपमा परिचित घिसिङ नेपाली डायस्पोरासँग प्रत्यक्ष भेटघाट गर्दै समसामयिक विषयहरूमा अन्तरक्रिया गर्ने कार्यक्रमसहित विदेश यात्रामा निस्किएका हुन्।
उनको भ्रमण जुलाई २५ देखि अगस्ट २६, २०२५ सम्म चल्नेछ। यो अवधिमा उनले अमेरिका, बेलायत, बेल्जियम, पोर्चुगल लगायत युरोपका विभिन्न मुलुकमा रहेका नेपालीहरूसँग संवाद गर्नेछन्। ऊर्जा क्षेत्रका अनुभवी र दूरदर्शी योजनाकारको रूपमा चिनिने घिसिङले देशबाहिर रहेका नेपालीहरूसँग राष्ट्रिय विकास, ऊर्जा सम्भावना, र उद्यमशीलताका अवसरबारे समेत छलफल गर्नेछन्।
भ्रमण तालिका यसप्रकार छ:
-
जुलाई २५–२८: न्यूयोर्क (USA)
-
जुलाई २८–३०: बोस्टन (USA)
-
जुलाई ३१ – अगस्ट २: टेक्सास (USA)
-
अगस्ट ३: न्यूयोर्क (USA)
-
अगस्ट ४–५: अन्य अमेरिकी शहर (अधिसूचित हुन बाँकी)
-
अगस्ट ५–७: वासिङ्टन DC (USA)
-
अगस्ट ८–१०: पुनः न्यूयोर्क (USA)
-
अगस्ट ११–१५: लन्डन (UK)
-
अगस्ट १६–१७: स्कटल्याण्ड (UK)
-
अगस्ट १८–२३: युरोपेली देशहरू – विशेषगरी बेल्जियम र पोर्चुगल
-
अगस्ट २४–२५: पुनः लन्डन (UK)
-
अगस्ट २६: काठमाडौं फिर्ती
नेपाली डायस्पोरासँग प्रत्यक्ष संवाद
‘उज्यालो नेपाल’ को दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न र प्रवासी नेपालीहरूलाई नेपालप्रतिको लगाव अझै मजबुत बनाउने उद्देश्यले घिसिङको यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ। अमेरिका, बेलायत र युरोपका विभिन्न शहरहरूमा आयोजना हुने संवाद, गोष्ठी तथा स्वागत कार्यक्रमहरूमा उनले सहभागी हुने कार्यक्रम रहेको छ।
सामाजिक सञ्जालबाट सन्देश
यात्रा प्रारम्भ गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्:
“आज म अमेरिका, वेलायत र युरोपियन देशहरूको विभिन्न शहरहरूमा हुने विभिन्न कार्यक्रम तथा अन्तरकृया कार्यक्रमहरूमा सहभागी हुन र नेपाली डाएस्पोराका दाजुभाई तथा दिदीवहिनीहरूसंग प्रत्यक्ष भेटघाट तथा अनुभव साटासाट गर्न जाँदैछु।”
नेपाली समाजमा निःस्वार्थ र पारदर्शी नेतृत्वको प्रतीकका रूपमा रहेका कुलमान घिसिङका हरेक गतिविधि नेपाली जनमानसमा चासोको विषय बन्ने गर्छ। यस भ्रमणले पनि देश र विदेशका नेपालीहरूबीच सशक्त सम्बन्ध स्थापना गर्न थप भूमिका खेल्ने अपेक्षा गरिएको छ।