वासिङ्टन डीसी / काठमाडौं — जुलाई २४–अमेरिकामा बसेर पनि दशकौंदेखि नेपालको सेवा, पीडित र सीपहीन जनताको साथमा निरन्तर खटिँदै आएका वरिष्ठ समाजसेवी हेम थापाले सामाजिक सञ्जालमार्फत आफ्ना सेवामूलक कार्यको तथ्य सार्वजनिक गर्दै एक गहिरो भावनात्मक स्टाटस लेखेका छन्।
थापाले लेखेका छन्, “आजसम्म मैले मानव सेवामा नेपाल र नेपालीका लागि ७३ हजार ९ सय ८८ जनालाई सहयोग (दान) गरेको रहेछु। त्यसमा जम्मा रकम ३१ करोड ५३ लाख ९२ हजार ८ सय १७ रूपैयाँ पुगेछ।”
उनको अनुसार, उनले प्रत्येक महिनामा १०० देखि १५० जना नेपालीलाई एक जनाको न्यूनतम १० हजारदेखि अधिकतम ३६ लाख रुपैयाँसम्मको प्रत्यक्ष सहयोग गरेका छन्। यस्ता सहयोगहरूमा उपचार खर्च, शिक्षादान, विपद् राहत, पुनःस्थापना, स्वरोजगार प्रवर्द्धन र महिला–बालबालिकाको संरक्षणमा केन्द्रित कार्यक्रमहरू रहेका छन्।
तर यति ठूलो संख्यामा सहयोगको इतिहास राख्ने थापाले स्टाटसमा भावुक हुँदै गुनासो गरेका छन् कि, सामाजिक सञ्जालमा सक्रिय भएसँगै उनले प्रशंसाभन्दा बढी अपमान, अवहेलना र चरित्र हत्या भोग्नुपरेको छ।
उनले भनेका छन्—“के हाम्रो देशमा राम्रो बन्नको लागि भ्रष्ट, दलाल, लोभी र पापी नै हुनुपर्छ? सीधा-सादा नेपालीको भावना माथि खेल्ने, भाषण गरेर लुट्ने, चिप्ला कुरा गर्ने अनि अरुको चरित्र हत्या गर्ने मात्र सम्मानित हुन्छन्? कठैबरी हामी नेपाली…!”
यस अभिव्यक्तिले वर्तमान नेपाली समाजको एउटा विकराल यथार्थलाई उजागर गरेको छ—जहाँ निःस्वार्थ सेवालाई कहिलेकाहीँ शंका, घृणा र आलोचनाको नजरले हेर्ने प्रवृत्ति मौलाउँदै गएको देखिन्छ।
हेम थापाको यो समर्पणमा उहाँकी धर्मपत्नी माया थापा पनि सधैँ साथमा रहँदै आएकी छन्। थापा दम्पतीले अमेरिका रहँदै विभिन्न संघ–संस्था र व्यक्तिगत पहलमार्फत नेपालको बाढी, भूकम्प, महामारी, बिरामीको उपचार, शैक्षिक छात्रवृत्ति, अपांगता पुनःस्थापना, आत्महत्यारोध अभियानलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
समाजसेवी थापाको स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक समर्थन र कदर देखिएको छ। कैयौंले थापाको “तथ्यमा आधारित विनम्र आत्मपरीक्षण” लाई आजको नेपाली समाजमा आवश्यक चेतना र अन्तरदृष्टिको रूपमा व्याख्या गरेका छन्।
हेम थापा—नेपाल बाहिर रहेर नेपाल र नेपालीकै सेवा, सहयोग र सम्भावनाको उज्यालो अनुहार। यस्ता अनुहारहरू गुमनाम रहे पनि राष्ट्र निर्माणको मेरुदण्ड हुन्।