काठमाडौं, असार २३ — देशमा चरम राजनीतिक भ्रष्टाचार, राज्यसंस्थामाथिको गिरिरहेको जनविश्वास र संविधानकै कमजोरीका कारण शासनसत्ता गलत हातमा पुगेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता रवि किरण हमालले एउटा गम्भीर चेतावनी दिएका छन् — “नेपाल पनि अब बुर्किना फासो जस्तै मोडमा जान सक्ने अवस्थामा पुगिसकेको छ। अब जनता आफैंले शासन सत्ता हातमा लिनुपर्ने बेला आउन सक्छ।”
उक्त भनाइ उनले हालै एक टेलिभिजन अन्तर्वार्तामा राखेका हुन्, जसले अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र तरंग फैलाएको छ।
हमालको भनाइ अनुसार, नेपालको वर्तमान संविधानले नै तस्कर, भ्रष्टाचारी र राष्ट्रघाती तत्वहरूलाई कानुनी सुरक्षा दिने खालका लुपहोलहरू राखेको छ। उनले भने, “संविधान भन्नु पर्ने दस्तावेजले इमानदार होइन, चलाख ठगहरूलाई शासनमा पुर्याउने ढोका बनाएको छ।”
उनको तर्कमा, संविधानले जनताको अधिकारको रक्षा गर्नुको सट्टा राजनीतिक सौदाबाजी र उन्मुक्तिको व्यवस्था सुनिश्चित गरेको छ, जसका कारण अपराधीहरू कानुनी खोलाभित्र लुकेर शासनसत्ता कब्जा गर्न सफल भइरहेका छन्। राज्य र सरकार निर्माण भनेको जनताको रक्षाको लागि हुन्छ, यहाँ त सिङ्गो सरकार मिलेर मानव तस्करी गरिरहेको छ जुन कुराले अन्तर्राष्ट्रिय स्तरमै नेपालको अहिलेको सरकारको वैधतामाथि प्रश्न उठाउने ठाउँ रहेको किरणले दाबी गरेका छन्।
हमालले थप आरोप लगाएका छन् कि देशका प्रमुख संवैधानिक निकायहरू — अख्तियार, निर्वाचन आयोग, न्यायपालिका — सबै पार्टीका नाफामुखी हातहरूमा परेका छन्। जनताको मनमा यस्ता संस्थाहरूको विश्वसनीयता लगातार घटिरहेको उनले बताएका छन्।
“जब जनताले न्याय पाउँदैन, आवाज सुन्दैन, तब उनीहरूले अन्तिम विकल्प खोज्न बाध्य हुन्छन्। इतिहासले यस्ता घडीहरू बारम्बार देखेको छ,” हमालले अन्तर्वार्तामा भनेका छन्।
हमालको अनुसार, नेपालभित्रको कमजोर शासन व्यवस्थाले देशको अन्तर्राष्ट्रिय साखसमेत गुमाएको छ। विदेशी सहयोगदाता देशहरू, रणनीतिक साझेदारहरू र क्षेत्रीय शक्ति केन्द्रहरूले समेत नेपाललाई अब ‘विश्वासिलो प्रजातान्त्रिक राष्ट्र’ का रूपमा हेर्न छाडिसकेका छन्।
“जहाँ संविधानको कार्यान्वयन नै असमान छ, त्यहाँ कसरी अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्ने?” उनले नयाँ संविधान लेख्नुपर्ने माग अगाडि सारेका छन्। राजनीतिमा लागेको एक दशक पूरा भइसकेको र आगामी दुई चार दशकै यस्तै खालको घिसीपिटी राजनीति नगर्ने समेत किरणले टेलिभिजन अन्तर्वार्तामा बताएका छन्।
बुर्किना फासो सन्दर्भ: विकल्पको चेतावनी
यसै पृष्ठभूमिमा, हमालले अफ्रिकी मुलुक बुर्किना फासोको उदाहरण प्रस्तुत गरे, जहाँ सत्ताधारीहरूको गैरजिम्मेवारी र नागरिक असन्तोषले गर्दा सेना सत्तामा आएको थियो। उनले भने, “त्यहाँ पनि जनता थाकेका थिए — हाम्रा जनता पनि थाक्दैछन्।”
उनको भनाइ अनुसार, यदि संविधान, व्यवस्था र राज्यसंयन्त्रले नै जनताको पक्षमा काम नगर्ने हो भने, जनताले प्रत्यक्ष शासनको विकल्प खोज्न सक्ने वातावरण नेपालमा पनि बन्दैछ।
युवा पुस्तामा चर्को समर्थन
हमालको यो स्पष्ट र साहसी अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेकै छ। विशेष गरी १८–३५ उमेर समूहका युवाहरूमा उनको “संविधानको समीक्षा” र “वैकल्पिक व्यवस्था खोज्नुपर्ने” भनाइप्रति चासो र समर्थन दुवै बढिरहेको छ।
“युवाहरूको सपना तुहिने ,देश अस्तव्यस्त हुने र राज्य असफल हुने अवस्था आयो भने रवि किरण जस्ता मान्छेहरूले शासनसत्ता हातमा लिएर चलाउनुपर्छ, र सबै युवाहरूले साथ दिनुपर्छ,” मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत सन्देश शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ।