कृष्ण केसी असार १, २०८२ राप्ती सोनारी गाउँपालिका–२ स्थित मदुवा र हरहरीपुरलाई जोड्ने मुगुवा खोला (ठूरे खोला) मा वर्षौंदेखि पुल निर्माण नहुनुका कारण स्थानीयवासी, विशेष गरी विद्यालय जाने बालबालिका उच्च जोखिम मोलेर खोला तर्न बाध्य छन्। वर्षा याममा खोला बढेपछि बालबालिका स्कुल जान र घर फर्कन सक्दैनन्, जसका कारण आमाबुबाहरू गम्भीर मानसिक तनावमा पर्न बाध्य छन्।

स्थानीय ३५ वर्षीया शारदा विक भन्छिन्, “छोराछोरी स्कुल गएका बेला खोला बढ्यो भने घर फर्कन्छन् कि फर्कँदैनन् भन्ने चिन्ताले हामी दिनभर अस्थिर बन्छौं।”
२०६४ सालदेखि नै राजनीतिक एजेन्डा बनेको भए पनि हालसम्म कुनै समाधान भएको छैन। नेकपा एमालेका जनप्रतिनिधि घनश्याम ओलीका अनुसार, मुगुवा खोलामा पुल निर्माणको माग हरेक चुनावको एजेन्डा बने पनि निर्वाचित जनप्रतिनिधिहरूले कहिल्यै स्पष्ट जवाफ नदिएको गुनासो छ। क्षेत्र नं. १ का संघीय सांसद सूर्य ढकाल र प्रदेश सांसद कृष्ण केसीलाई पटक–पटक आग्रह गरिए पनि केवल आश्वासन मात्र पाइएको उनी बताउँछन्।

असार १ गते दबाबमूलक जनसरोकार कार्यक्रमस्थानीय राजनीतिक दलहरू — नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, र राष्ट्रिय स्वतन्त्र पार्टीले एकजुट हुँदै मुगुवा खोलामा पुल निर्माणका लागि दबाब सिर्जना गर्न सामूहिक कार्यक्रम आयोजना गरे।राप्ती सोनारी टिभी र रैकवार खबर डट कम को सहकार्यमा सञ्चालित कार्यक्रममा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, पत्रकार, र करिब ३५ जना सर्वसाधारणको उपस्थिति थियो।

कार्यक्रमका सभाध्यक्ष शिवाखर उपाध्यायले भने, “राजनीतिक दलहरूले दशकौंदेखि पुल निर्माणलाई केवल चुनावी हतियार बनाउँदै आएका छन्। अब सञ्चार माध्यममार्फत जनदबाब सिर्जना गरेर ८४ भित्र पुल बनाउने अभियान अघि बढाएका छौं।”
निष्कर्षमा, मुगुवा खोलाको पुल निर्माण अब शब्दमा होइन, काममा देखिनुपर्ने स्थानीयको माग छ। यदि सम्बन्धित निकायहरूले अझै पनि सुनवाइ नगरे स्थलगत आन्दोलनबाट दबाब दिनुपर्ने चेतावनी समेत कार्यक्रममा दिइएको छ।