अमेरिकास्थित Association of Nepali Teraian in America (ANTA) ले आफ्नो आठौं महाधिवेशनपश्चात सम्पन्न पहिलो केन्द्रीय समिति बैठक तथा शपथ ग्रहण कार्यक्रममा विजय कुमार चौधरीलाई सर्वसम्मत निर्णयमार्फत प्रमुख सल्लाहकारमा चयन गरेको छ।

गत शुक्रबार, सेप्टेम्बर ५, २०२५ मा सम्पन्न उक्त कार्यक्रममा चौधरीको दीर्घ योगदान, सक्रिय समाजसेवा र संस्थाप्रतिको निरन्तर समर्थनलाई उच्च सम्मान गर्दै यो जिम्मेवारी प्रदान गरिएको हो।
क्यालिफोर्नियामा बसोबास गर्दै आएका चौधरी हाल नेपाल सरकारका पर्यटन सद्भावना दूत समेत हुन्। उनले लामो समयदेखि संस्कृति संरक्षण, एकता प्रवर्द्धन र समाजसेवाका क्षेत्रमा निरन्तर योगदान दिंदै आएका छन्। विशेषगरी ANTA को गतिविधि र उद्देश्यलाई सफल बनाउन चौधरीले खेलेको भूमिका उल्लेखनीय रहेको छ।
ANTA परिवारले चौधरीलाई प्रमुख सल्लाहकारमा चयन भएको अवसरमा हार्दिक बधाई ज्ञापन गर्दै, उनको अनुभव, दृष्टि र मार्गदर्शनले संस्था अझ सबल, सक्षम र परिणाममुखी बन्ने विश्वास व्यक्त गरेको छ।
“२० वर्षको संस्कृति, सेवा र एकता – हाम्रो संस्कृति जोगाऔं, भविष्यलाई प्रेरणा दिऔं” भन्ने नाराका साथ अघि बढिरहेको ANTA ले चौधरीको नेतृत्वदायी सल्लाहबाट आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू अघि सार्ने तयारी गरेको जनाएको छ।
👉 आधिकारिक जानकारीका लागि: www.anta-terai.org