गोकर्णेश्वर, काठमाडौं – गोकर्णेश्वर नगरपालिकालाई विकास निर्माण तथा पूर्वाधार सुदृढीकरणका लागि नेपाल सरकारबाट ४० करोड रुपैयाँको विशेष बजेट विनियोजन गरिएको छ। यस ऐतिहासिक उपलब्धिका लागि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहप्रति गहिरो कृतज्ञता र हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।
नगर प्रमुख रिसालले यस बजेटलाई गोकर्णेश्वरको समुन्नत विकासका लागि ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै भन्नुभयो, “उपप्रधानमन्त्रीज्यूको दूरदृष्टि र सद्भावले गोकर्णेश्वरवासीको दशकौं पुरानो अपेक्षा पुरा भएको छ। उहाँप्रति गोकर्णेश्वरवासी सधैं आभारी रहनेछन्।”
नगरपालिकाले प्राप्त ४० करोड बजेट सार्वजनिक पूर्वाधार विकास, सडक विस्तार, नाला व्यवस्थापन, शहरी सौन्दर्यीकरण, हरित क्षेत्र संरक्षण तथा शिक्षा र स्वास्थ्य पूर्वाधारमा केन्द्रित गरिने योजना बनाएको छ।
नगर प्रमुख रिसालले थप स्पष्ट पार्नुभयो, “हामीले मन्त्रालयसँग समन्वय गर्दै पारदर्शी र प्रभावकारी योजनाका माध्यमबाट बजेटको उच्चतम उपयोग गर्नेछौं। गोकर्णेश्वरलाई नमुना नगरको रूपमा अगाडि बढाउने हाम्रो प्रतिवद्धता अझ सशक्त बनेको छ।”
यस अवसरमा नगर प्रमुखले समस्त नगरवासी, कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै विकास निर्माणको गतिलाई तीव्रता दिने प्रतिबद्धता जनाउनुभयो।
शहरी विकास मन्त्रालयका अनुसार गोकर्णेश्वर नगरपालिका अब राजधानी क्षेत्रका ती नगरहरूमध्ये एक हुनेछ, जहाँ समावेशी विकास, स्मार्ट प्रविधिको प्रयोग, हरियाली प्रवर्द्धन र नागरिकमैत्री योजनाहरू प्राथमिकतामा पर्नेछन्।
नगरप्रमुख रिसाल र उपप्रधानमन्त्री सिंहबीच भएको सहकार्य तथा परस्पर विश्वासले आगामी दिनमा अझ धेरै योजनाहरू ल्याउने अपेक्षा गरिएको छ।