काठमाडौ, जेठ २० –राष्ट्रिय युवा संघ, नेपालको १०औं महाधिवेशन सम्पन्न भएपछि नेकपा एमालेका प्रभावशाली युवा नेता सुमन पुरीले सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विशेष भेटघाट गरेका छन्। भेटघाट अत्यन्तै फलदायी र प्रेरणादायी रहेको बताउँदै पुरीले सामाजिक सञ्जालमार्फत आफ्ना भावना सार्वजनिक गरेका छन्।

उनका अनुसार अध्यक्ष ओलीले पार्टी जीवनमा हार–जीतलाई प्रक्रियाको एउटा हिस्सा भन्दै त्यसमा निराश नहुन प्रेरित गरेका थिए। “हार–जीत कुनै अन्त्य होइन, यो त प्रक्रियाको एउटा हिस्सा मात्र हो। पार्टीको काममा समर्पित हुँदै अघि बढ्न आवश्यक छ,” भन्ने अध्यक्ष ओलीको सन्देशले पुरीलाई अझ दृढ बनाएको देखिन्छ।

प्रधानमन्त्री ओलीले भूगोल केन्द्रित संगठन विस्तार र पार्टी सुदृढीकरणतर्फ केन्द्रित भएर अगाडि बढ्न स्पष्ट निर्देशन दिएको पनि पुरीले उल्लेख गरेका छन्। “अबको मार्गचित्र भूगोल केन्द्रित संगठन विस्तार र पार्टी सुदृढीकरणतर्फ उन्मुख हुनुपर्नेमा उहाँले दिएको स्पष्ट निर्देशन अमूल्य छ,” उनले भनेका छन्।
भेटमा पार्टीको आगामी योजनाहरू, युवाहरूको भूमिकाबारे छलफल भएको जनाइएको छ। सुमन पुरीले आफू सधैं प्रधानमन्त्री ओलीको माया, विश्वास र मार्गदर्शनप्रति कृतज्ञ रहने बताएका छन्।

पुरी नेकपा एमालेभित्र युवा तहमा उदाउँदो र कर्मठ नेताको रूपमा चिनिन्छन्। राष्ट्र, पार्टी र जनताप्रति समर्पित भावनासहित अघि बढिरहेका पुरीको यो सक्रियता एमालेको भविष्यप्रति आशावादी सन्देशका रूपमा लिइएको छ।
पार्टी सुदृढीकरण, संगठन विस्तार र नीति कार्यान्वयनमा उनी निरन्तर सक्रिय छन् भने राष्ट्र निर्माणको अभियानमा नयाँ उर्जा दिन सक्ने क्षमताका साथ अगाडि बढिरहेका छन्।