काठमाडौँ, २३ भदौ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले नेपालमा जेन–जेड पुस्ताद्वारा आह्वान गरिएको हिजोको प्रदर्शनका क्रममा भएको हिंसा र बल प्रयोगप्रति गम्भीर प्रतिक्रिया व्यक्त गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जारी गरेको सन्देशमा लेखेका छन्, “हिजो नेपालमा भएको प्रदर्शनको क्रममा कलिला युवा विद्यार्थी प्रदर्शनकारीहरू माथि सुरक्षा निकायबाट अत्यधिक बल प्रयोग हुनु, शान्ति सुरक्षा कायम गर्ने अन्य वैकल्पिक उपायहरू हुंदा हुंदै पनि गोली नै प्रहार गरी ठूलो संख्यामा युवाहरूको मृत्यु हुनुले हामी अत्यन्तै दुखी भएका छौं।”
उनले स्पष्ट रूपमा सरकारलाई दोषी ठहराउँदै भनेका छन्, “यस दुखत घटनामा सरकार पूर्ण रूपमा जिम्मेवार देखिन्छ। विशेष गरी प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूले यस दुखत घटनाको जिम्मेवारी लिनै पर्नेछ।”
श्रेष्ठले दोषीमाथि कडा कारबाहीको माग गर्दै जेन–जेडले उठाएका मागहरू समयमै सम्बोधन गर्न सरकारलाई अपील गरेका छन्।
अन्त्यमा उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, “हिजोको प्रदर्शनमा निधन हुने सबैको आत्माको चीर शान्तिको कामना अनि शोकसंतप्त परिवारप्रति समवेदना प्रकट गर्दै, सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।”
विशेषज्ञहरूले एनआरएनए अध्यक्षको यस प्रतिवेदनलाई युवापुस्ताप्रति ऐक्यबद्धता र नेपाल सरकारमाथि अन्तर्राष्ट्रिय स्तरको ध्यानाकर्षण गराउने संवेदनशील कदमको रूपमा मूल्याङ्कन गरेका छन्।