काठमाडौं, वैशाख २८, २०८२ – काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटस्थित बद्रिनारायण धाममा आयोजित प्राण–प्रतिष्ठा समारोह वैशाख १९ देखि २७ गतेसम्म भव्य रूपमा सम्पन्न भएको छ।समारोहको उद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले दीप प्रज्वलन गरी गर्नुभएको थियो।

समारोहमा श्रीश्री १००८ स्वामी महामण्डलेश्वर कैलाशानन्द गिरिजी महाराज, भारतीय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष भगतसिंह कोशियारी, बद्रिनाथ धाम उत्तराखण्डका अध्यक्ष दर्शन भारतीजी, नेपालका उपप्रधानमन्त्री एवं मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री, सांसदज्यूहरू, नगरपालिकाका प्रमुख तथा कार्यपालिका, सरकारी प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतागण, विद्वान्/विदुषी, समाजसेवी, संघ–संस्थाका प्रतिनिधि, देश–विदेशबाट आएका भक्तजनहरू, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको पूर्वसन्ध्यामा नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजनामा पदयात्रा सम्पन्न भएको थियो।पण्डित दिनबन्धु पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो गहिरो भाव व्यक्त गर्दै, “यस महान कार्य सम्पन्न गर्न अहं भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण समादरणीय सज्जनप्रति हार्दिक आभार व्यक्त गर्दछु” भनेका छन्। साथै, उनले सबैको प्रेम, सद्भाव र सहकार्यप्रति कृतज्ञता प्रकट गर्दै भावुक शब्दमा लेखेका छन्, “हामी तपाईंहरूप्रति ऋणी भएका छौं, यो गुण तिर्न हामी असमर्थ छौं।”

समारोहले धार्मिक एकता, राष्ट्रको सांस्कृतिक समृद्धि, नेपाल–भारत सम्बन्ध तथा भक्तिभावपूर्ण चेतनाको सशक्त सन्देश प्रवाह गरेको बताइएको छ।“ॐ नारायण” मन्त्रका साथ समर्पित यो ऐतिहासिक आयोजनाले धर्म, संस्कृति र समर्पणको उज्यालो इतिहास कोरेको आयोजक समिति बताउँछ।
