काठमाडौँ । हाल नेपालमा भइरहेका जन–आन्दोलन र Gen Z पुस्ताको निर्णायक भूमिकाप्रति अमेरिकामा बसोबास गर्दै आएका प्राध्यापक तथा समाजसेवी डा. बालकृष्ण शर्मा (मरहट्टा) ले गहिरो आभार व्यक्त गरेका छन्। गोर्खाको लिगलिग सिम्पानी जन्मभूमि भई हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका उनले एक सार्वजनिक सन्देशमार्फत नेपाली युवापुस्ताले देशलाई नयाँ दिशातर्फ डोऱ्याएको भन्दै धन्यवाद दिएका हुन्।
उनले भनेका छन्, “नेपालका Gen Z पुस्ताले हिजो ‘फ्रीडम डे’ को जन्म दिएका छन्। फ्रीडमका लागि हालै ज्यान गुमाएकाहरू सच्चा सहिद हुन्, उनीहरूलाई सलाम छ। घाइते भएका बाबु–नानीहरू सबैलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना छ।”
डा. शर्माले भ्रष्टाचारमा लिप्त पुराना नेताहरूमाथि कठोर कारबाही हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, “बुढा गोरुहरूलाई मार्नु हुँदैन, तर जन्मकैद र सर्वस्वहरणको सजाय तुरुन्तै दिनुपर्छ। उनीहरूले आर्जन गरेको सम्पत्ति देशको सम्पत्ति बनाउनु पर्छ। प्रशासनमा रहेका सयौं–हजारौं भ्रष्टचारीहरूको पनि छानबिन भई प्रमाण भेटिए सर्वस्वहरण हुनैपर्छ।”
उनले यो आन्दोलनलाई नेपालको ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै भने, “१२ वर्षपछि पाप धुरीबाट कराउँछ भन्ने भनाइ छ, तर नेपालमा भने ३० वर्ष लाग्यो। केहीले गर्न नसकेको काम हुरीले गर्यो, त्यस्तै Gen Z ले अहिले सम्भव बनाए।”
देशको भविष्य नेतृत्वबारे धारणा राख्दै उनले रबि लामिछाने, बालेन शाह, गोपी हमाल, हर्क साम्पाङलगायत नयाँ पुस्ताका नेताहरूले २५–५० वर्षका युवासँग मिलेर देश हाँकोस् भन्ने इच्छा व्यक्त गरेका छन्। साथै, सुशिला कार्कीलाई सर्वोच्च अदालतमा पुनः प्रमुख नेतृत्वको भूमिकामा देख्ने चाहना पनि राखेका छन्।
प्रवासी नेपालीहरूको पीडा र आकांक्षा समेट्दै उनले भनेका छन्, “हामी सबैले नेपाल फेरि एकपल्ट बस्न लायक देश भएको हाम्रो पालामै देख्न पाऊँ। बाध्यताले विदेशिएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले छिटै नेपाल फर्केर आफ्ना परिवारसँगै जीवनयापन गर्ने र मातृभूमिको सेवा गर्ने दिन छिट्टै आओस्।”
अन्त्यमा उनले सम्पूर्ण शुभचिन्तकहरूलाई आशीर्वादमय सन्देश दिँदै भने, “भलो गर्नेहरू र भलो चिताउनेहरूको भलो होस्।”