काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमा हालै सम्पन्न हायातस्थित एकता महाधिवेशन निर्णायक मोड सावित भएको छ। र, यो ऐतिहासिक सफलता पछाडि एक निस्वार्थ, दूरदर्शी र लोकप्रिय व्यक्तित्वको भूमिका निर्विवाद छ — पूर्व अध्यक्ष विनोद कुँवर।
एकताका लागि अध्यक्षको उम्मेदवारी नदिएर महेश श्रेष्ठको समर्थनमा उभिएका कुँवरले नेतृत्वभन्दा ठूलो योगदान दिएका छन्। जुन बेला संस्था विघटन र द्वन्द्वको संघारमा उभिएको थियो, त्यही बेला कुँवरले आफ्नो व्यक्तिगत आकांक्षा त्यागेर संस्थाको दीर्घकालीन हितलाई प्राथमिकता दिए। आजको सफल एकता महाधिवेशनको ढुंग्रो उनकै निर्णय र संयमता बनेको हो।
एनआरएनएभित्र सबै मिल्ने दुर्लभ व्यक्तित्वका रूपमा चिनिने विनोद कुँवर सधैं युवालाई प्रोत्साहन गर्ने, नेपालप्रेमी र संस्थाको मूल्य र मान्यतामा अडिग व्यक्ति हुन्। व्यवसायिक क्षेत्रका सशक्त युवा नेतामात्र होइन, उनले आफ्नो नेतृत्वमा सयौं नेपालीहरूलाई रोजगारी दिएर ‘नेपाल बनाउनुपर्छ’ भन्ने सपनालाई व्यवहारमा उतारेका छन्।
कुँवरको दर्शन सधैं स्पष्ट रह्यो — “संस्था ठूलो हो, व्यक्ति होइन। पद होइन, परिणाम ठूलो हो।” यही सोचका कारण उनी आज पनि एनआरएनएभित्र सबैको साझा नेता र सहमतिको केन्द्रबिन्दु बनेका छन्।
एकताका पक्षधर, निस्वार्थ सहयोगी र राष्ट्रिय सोच बोकेको युवा व्यवसायी विनोद कुँवरको योगदान आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ। अध्यक्ष बन्न सक्ने हैसियतमा हुँदाहुँदै पनि, उनले समग्र संस्थाको हितका लागि पृष्ठभूमिमा बसेर सफलता सुनिश्चित गर्नु नेपाल र नेपालीको लागि उनी कति समर्पित छन् भन्ने प्रमाण हो।
उनकै सहकार्य र नेतृत्वदायी सोचका कारण महेश श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमिति आज सम्पूर्णरूपमा मान्यता प्राप्त, सर्वसम्मत र सशक्त बनेको छ। एनआरएनएभित्र एकताका यो पर्खाल निर्माणमा विनोद कुँवरको इँटा अमिट रहन्छ।
— एचबी ताम्राकार(एनआरएन विश्लेषक तथा पत्रकार)