सम्भवतः नेपाली इतिहासकै एक अनौठो र गौरवपूर्ण क्षण— अछामको विकट रामारोसन गाउँपालिका–४ मा जन्मिएका एक सामान्य शिक्षकका तीन सन्तान एकैपटक नेपाल प्रहरीका नायब उपरीक्षक (DSP) बन्न सफल भएका छन्। यो कुनै फिल्मी कथा होइन, देवानन्द र पारु न्यौपानेको संघर्ष, अनुशासन र सपना साकार भएको यथार्थ जीवनको कथा हो।
चार दशकभन्दा बढी समय शिक्षणमा समर्पित रहेर हालैमात्र अवकाश पाएका देवानन्द न्यौपानेको अनुहारमा अहिले गर्वको चमक छ। कुनै राजनीतिक पहुँच, कोटा वा सिफारिस बिना— उनका छोराहरूले केवल प्रतिभा, कडा परिश्रम र इमान्दार सेवाभावका बलमा नेपाल प्रहरीमा यस्तो ऐतिहासिक उचाइ हासिल गरेका छन्।
तीन तारा, एउटै आकाश – न्यौपाने परिवारका गौरव
१. सिद्धराज न्यौपाने – जेठा छोरा, हाल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पिएसओका रूपमा खटिएका छन्। २०६३ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनले २०७४ मा DSP पदमा पदोन्नति पाएका थिए। अब उनी प्रहरी उपरीक्षक (SP) बन्ने तयारीमा छन्। कर्तव्यनिष्ठा र नेतृत्व क्षमताका कारण उच्च तहमा समेत उनीप्रति विश्वासको वातावरण बनेको छ।
२. केशर न्यौपाने – माइलो छोरा, हाल सल्यान जिल्लाको प्रहरी प्रमुखको रूपमा कार्यरत छन्। २०७० सालमा इन्सपेक्टर भएका उनले २०८० मा DSP बन्न सफल भए। शान्त र प्रभावशाली नेतृत्वदक्षता बोकेका उनी विभिन्न जिल्लामा कमाण्ड सम्हाल्दा ‘जनताको प्रहरी’को छवि बनाउन सफल भएका छन्।
३. मुकेश न्यौपाने – कान्छा छोरा, हाल रुपन्देहीको बेलैया इलाका प्रहरी कार्यालयमा DSP पदमा कार्यरत छन्। २०७६ मा निरीक्षक भई छोटो समयमा दक्ष प्रहरी अधिकृतका रूपमा पहिचान बनाएका मुकेशले पनि आफ्नो सादगी र कर्तव्यनिष्ठा मार्फत संगठनमा सम्मान पाएका छन्।
शिक्षक बुबाको सपना: छोरा–छोरीबाट साकार
देवानन्द न्यौपानेले भनेका छन्, “मैले राजनीति कहिल्यै गरेन, कोही नेतासँग लम्पसार परिन। मेरा छोराहरूको मेहनतले आज हामी गाउँको नाम देशभर गुञ्जाउन सकेका छौं।” उनले ४४ वर्ष शिक्षा क्षेत्रमा बिताएका थिए, अनि अब जीवनको उत्तरार्धमा सन्तानको सफलताले उनलाई अमूल्य सन्तोष दिएको छ।
न्यौपाने परिवारमा DSP बन्ने छोरा मात्र होइनन्—
चन्द्रप्रकाश न्यौपाने इन्जिनियर हुन्, र छोरी कविता न्यौपाने दार्चुला अस्पतालमा कार्यरत चिकित्सक। यो परिवारलाई ‘सपना साकार पार्ने नेपाली घर’को ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।
आज न्यौपाने परिवार कैलालीको जानकी गाउँपालिका, बन्देवीपुरमा स्थायी बसोबास गर्दैछ— तर उनीहरूको कर्म र नाम अब अछामदेखि काठमाडौंपर्यन्त सम्मानका साथ उच्चारण हुन्छ।
शिक्षक बुबाको घरबाट DSP को गुञ्जन!
यो केवल एक परिवारको कथा होइन— यो हरेक नेपाली आमाबुबाको सपना हो, जसले सादा जीवन, उच्च सोच र अथक मेहनतलाई जीवनको मूल मन्त्र मानेका छन्।