काठमाडौँ, वैशाख २२ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको छ। भेटवार्ता राष्ट्रपति भवन, शीतल निवासमा सम्पन्न भएको हो।
भेटका क्रममा नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठ नेतृत्वको टोलीले सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतको परमादेशअनुसार सफलतापूर्वक सम्पन्न महाधिवेशन तथा सर्वसम्मतिका आधारमा गठित नयाँ कार्यसमितिबारे जानकारी गराएको थियो।
अध्यक्ष श्रेष्ठले एनआरएन नागरिकताको कार्यान्वयनमा देखा परिरहेका प्राविधिक र कानुनी जटिलतासहित अन्य महत्त्वपूर्ण विषयहरूबारे पनि राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको जानकारी गराइयो।
भेटका अवसरमा राष्ट्रपति पौडेलले गैरआवासीय नेपालीहरूलाई एकतामा बाँधेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। साथै, राष्ट्रपतिज्यूसँगको यो भेटघाटले एनआरएनएका उद्देश्य, चुनौती र सम्भावनाबारे सकारात्मक संवादका लागि मार्गप्रशस्त गरेको छ।
अध्यक्ष श्रेष्ठले राष्ट्रपतिज्यूप्रति गहिरो आभार व्यक्त गर्दै भन्नुभयो, “हाम्रा कुराहरू गम्भीरतापूर्वक सुनी दिनुभएकोमा र एनआरएनएका मुद्दाप्रति चासो राख्नु भएकोमा हामी कृतज्ञ छौं। राष्ट्रपतिको मार्गदर्शन हाम्रो आगामी यात्रामा प्रेरणादायी हुनेछ।”
त्यसैगरी, उपाध्याय मनोज कुमार श्रेष्ठ ले एस नेपाल न्युज लाई जानकारी गराउनु भयो।यो भेटले गैरआवासीय नेपालीहरू र मातृभूमि नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।