एचबी ताम्राकार,वैशाख २२ गते,काठमाडौँ – विश्वभर फैलिएको नेपाली डायस्पोराको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन हायात होटलमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट रश्मि थापा निर्विरोध रूपमा महिला संयोजक पदमा चयन हुनुभएको छ, जसले एनआरएनएमा महिलाको सशक्त भूमिका र समावेशीताको गहिरो सन्देश दिएको छ।
रश्मि थापा दीर्घकालदेखि एनआरएनएमा सक्रिय हुँदै आएकी एक अग्रज महिला नेतृ हुन्। उहाँको नेतृत्व क्षमता, समर्पण भावना र महिला सशक्तीकरणप्रतिको अडिग प्रतिबद्धता प्रशंसनीय रहेको छ। विभिन्न मुलुकमा रहेका नेपाली महिलाका मुद्दा, पहिचान र अधिकारप्रति उहाँको धारिलो आवाज र प्रभावकारी अभियानहरूले महिला समुदायमा विशिष्ट प्रभाव पारेको छ।
एकता महाधिवेशनले पछिल्लो समयको संगठनभित्रको विभाजन र अन्योलतामा पूर्णविराम लगाउँदै, साझा सोच, समर्पण र सहकार्यको नयाँ युगको सुरुवात गरेको छ। यसै सन्दर्भमा रश्मि थापाको निर्विरोध चयन महिलामाझ सहमति र विश्वासको प्रतिकका रूपमा लिइएको छ।
महिला संयोजक थापाले भन्नुभयो:
“मलाई यो जिम्मेवारी मिल्नु केवल व्यक्तिगत गौरव होइन, सम्पूर्ण एनआरएन महिला समुदायप्रतिको संस्थाको विश्वास र सम्मान हो। म महिलाहरूको आवाज अझ बुलन्द पार्न, क्षमता अभिवृद्धि गर्न र नेतृत्व विकासमा क्रियाशील रहनेछु।”
उक्त महाधिवेशनमा विश्वभरिबाट प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। एनआरएनएको भावी कार्यदिशा, नीति निर्माण र संगठन सुदृढीकरणमा महिला संयोजकको नेतृत्वले नयाँ ऊर्जा ल्याउने विश्वास गरिएको छ।
एनआरएनएका नेतृत्व तहमा महिलाको बृहत् सहभागिता सुनिश्चित गर्नु आजको आवश्यकता हो, र रश्मि थापा जस्ता प्रतिबद्ध व्यक्तित्वहरूको नेतृत्वले त्यो यात्रालाई थप सार्थक बनाउनेछ।