सिड्नी, अष्ट्रेलिया – अष्ट्रेलियाको सिड्नीमा अब नेपाली सांस्कृतिक धरोहर झल्किने ‘मिनी नेपाल’ निर्माण हुने भएको छ। यस ऐतिहासिक योजनाको नेतृत्व Greater Sydney Nepalese Multicultural Centre (GSNMC) ले लिएको छ। सन् २०२4 मा स्थापना भएको यो संस्थाले सिड्नी तथा वरपरका नेपाली समुदायलाई एकीकृत गर्दै नेपाली कला, संस्कृति, भाषा र विविधता प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
यस परियोजनाको बारेमा जानकारी दिँदै अभियन्ता सिव बन्जराले भने, “मिनी नेपाल केवल भवन वा मूर्तिहरूको समूह होइन, यो सिड्नीमा रहेका सबै नेपालीहरूका लागि गर्वको प्रतीक हुनेछ। हामीले स्वदेशको माया यहाँको माटोमा उतार्ने कोसिस गरेका छौं।”
मिनी नेपालमा के-के समावेश हुने?
बन्जराका अनुसार ‘मिनी नेपाल’ मा पशुपतिनाथ, स्वयम्भू, बुद्ध स्तूप, हिमाल, रानीपोखरी, दशरथ रंगशाला जस्ता ऐतिहासिक स्थलहरूको झल्को दिने संरचना रहनेछ। साथै, नेपालका विभिन्न जातजाति, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने बहुभाषिक सांस्कृतिक केन्द्र पनि निर्माण गरिनेछ।
समुदायको साथमा अगाडि बढ्ने योजना
GSNMC को लोगोमा पनि नेपाल र अष्ट्रेलियाको प्रतिकात्मक दृश्यहरू झल्काइएको छ—जहाँ हिमाल, बौद्ध स्तूप र पाटन दरबार स्क्वायरसँगै सिड्नीको ओपेरा हाउस र हार्बर ब्रिज देखिन्छ। यसले दुई संस्कृतिको सुमधुर समिश्रण प्रस्तुत गर्छ।
सहभागिता र सहयोगको आह्वान
सिव बन्जराले थपे, “हामी यो अभियानलाई सफल बनाउन नेपाली समुदायको व्यापक साथ र समर्थनको अपेक्षा गरेका छौं। यो हाम्रो पहिचानको प्रतीक हुनेछ।” उनले सिड्नीका स्थानीय निकायहरूसँग पनि सकारात्मक छलफल भइरहेको जानकारी दिए।
GSNMC को मिशन
GSNMC ले नेपाली समुदायबीच सामाजिक, शैक्षिक, सांस्कृतिक र परोपकारी कार्यहरूमा अग्रसर भई सेवा गर्दै आएको छ। सन् 2024 मा स्थापना भए पनि छोटो समयमै यसको प्रभाव र कामको दायरा उल्लेखनीय बनिसकेको छ।