लिस्बन, पोर्चुगल — पोर्चुगलस्थित नेपाली राजदूतावास, लिस्बनको रेस्तेलोस्थित कार्यालयमा नेपाली संघसंस्थाका प्रतिनिधिहरूले बुधबार दूतावास पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गर्दै समुदायका विविध समस्याबारे ध्यानाकर्षण गराएका छन्।
उक्त भेटघाटमा दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपाल र तृतीय सचिव अनील रानासँग समसामयिक सवालमा गहिरो छलफल भएको हो। भेटघाटको संयोजन नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगरले गरेका थिए।
भेटमा सहभागी संघसंस्थाका प्रतिनिधिहरूमा एनआरएनए आइसीसी सदस्य राजकुमार थापा, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्का, नेप्लीज वुमन एसोसिएसन पोर्चुगलकी अध्यक्ष एवं आइसीसी सदस्य शान्ति अर्याल अधिकारी, एनआरएनए पोर्चुगलका संरक्षक यमेन्द्र घर्ती, प्रवासी नेपाली मञ्चका अध्यक्ष दीपक खत्री, नेपाली जनप्रगतिशील मञ्चकी अध्यक्ष सीता ढकाल सुवेदी, तथा शेर्पा किदुक पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा लगायत समुदायका विभिन्न अग्रजहरूको उपस्थिति थियो।
सेवा प्रवाहसँग जोडिएका विषयहरूमा सुझाव
संघसंस्थाका प्रतिनिधिहरूले प्रहरी रिपोर्ट लगायतका डकुमेन्ट प्रमाणीकरण प्रक्रियालाई थप सरल, छरितो र सहज बनाउन आग्रह गरेका थिए। साथै, एपोइन्टमेन्ट प्रणालीलाई व्यवस्थित गर्न, इमर्जेन्सी सेवाग्राहीहरूलाई प्राथमिकता दिन, र नयाँ पासपोर्ट बनाउने तथा नवीकरण सेवा चाँडै सुरु गर्न दूतावासको ध्यानाकर्षण गराइएको थियो।
दूतावासका तर्फबाट कार्यवाहक राजदूत रामबाबु नेपाल र तृतीय सचिव अनील रानाले हाल प्रवाह भैरहेका सेवाहरू, अपनाइएको प्रक्रिया र सुधारका पहलहरूबारे जानकारी दिएका थिए। उनीहरूले संघसंस्थासँग सहकार्य गर्दै सेवा प्रवाह अझ सहज बनाउने प्रतिबद्धता जनाए।
साथै, सही सूचना प्रवाह गरी समुदायमा भ्रमको अन्त्य गर्न, संवेदनशील सेवा प्रक्रियामा पारदर्शिता र द्रुतता ल्याउन, दूतावासको तर्फबाट समुदायका अगुवाहरूलाई सक्रिय सहयोग र समन्वय गर्न पनि आग्रह गरिएको थियो।
समुदायमा सकारात्मक सन्देश
यो प्रकारको संवादात्मक भेटघाटले पोर्चुगलस्थित नेपाली समुदाय र दूतावासबीचको विश्वास, समन्वय र समाधानमुखी सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। संघसंस्थाका प्रतिनिधिहरूले नियमित अन्तरक्रिया तथा संयुक्त प्रयासमार्फत दूतावासका सेवा प्रणालीमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।