एचबी ताम्राकार, काठमाडौं, वैशाख १९, २०८२ —माओवादी केन्द्रका प्रभावशाली युवा नेता बीबी खरालले समाजवादी मोर्चा असारभित्र एकता हुन नसके तेस्रो धारको वामपन्थी ध्रुवीकरण हुने स्पष्ट संकेत दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक प्रभावशाली स्टाटसमा उनले राजनीतिक विश्लेषण गर्दै चेतावनीमूलक सन्देश दिएका हुन्।
उनका अनुसार, यदि समाजवादी मोर्चाको बहुप्रतीक्षित एकता अब ढिलो गरियो भने डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’, सीके राउतजस्ता नेताहरू मिलेर नयाँ वामपन्थी धारको समाजवादी कम्युनिस्ट पार्टीको निर्माण गर्ने सम्भावना प्रबल बन्दै गएको छ।
बीबी खराल लेख्छन्:
“समाजवादी मोर्चाको एकता असारभित्र नभए तेस्रो धारबाट बामपंथी ध्रुवीकरणको खतरा छ। यसको असर प्रत्यक्ष रूपमा पहिलो माओवादी र दोस्रो एमाले दुबैलाई पर्न सक्छ।”
उनी थप भन्छन्, “यदि डा. बाबुराम, माधव नेपाल, बिप्लव र सीके राउतहरू बीच नयाँ धारको समाजवादी पार्टी गठन भयो भने, त्यहाँको नेतृत्वले विद्यमान शक्तिहरूको सन्तुलनमा ठुलो धक्का पुर्याउनेछ। त्यसैले अबिलम्ब एकताको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता छ।”
२०८३ को मंसिरसम्म राष्ट्रिय सम्मेलनको प्रस्ताव
बीबी खरालले समाजवादी मोर्चाका सबै नेतृत्वलाई अपिल गर्दै २०८३ सालको मंसिरसम्म राष्ट्रिय सम्मेलन गरी चुनावी अभियानमा संगठित ढंगले जाने रणनीति तय गर्न आह्वान गरेका छन्।
उनको यो स्टाटसले माओवादी केन्द्रभित्रको आन्तरिक बहसलाई तीव्र बनाउनेछ भन्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ। वर्तमान अवस्थामा समाजवादी मोर्चाको गति सुस्त देखिएको बेला, यस्ता स्पष्ट र तीखा धारणाले मोर्चा नेतृत्वमा चाप सिर्जना गर्ने अपेक्षा गरिएको छ।