काठमाडौं, वैशाख १७ –जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको आज काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान परिसरबाट गरिएको गिरफ्तारीप्रति कडा आपत्ति जनाएको छ।
पार्टी अध्यक्ष डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यस घटनालाई “दुर्भाग्यपूर्ण, आपराधिक र दमनकारी” भन्दै तत्काल चौधरीको रिहाइको माग गरेको छ।
आज जनमत र नाउपाबीच बहुप्रतिक्षित पार्टी एकताको औपचारिक घोषणा कार्यक्रम तय गरिएको थियो। तर, सोही अवसरमा सादा पोशाकमा आएका प्रहरीले पूर्वनियोजित रूपमा चौधरीलाई नियन्त्रणमा लिएको जनमत पार्टीको आरोप छ।
पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले भने,
“पार्टी एकीकरणको ऐतिहासिक क्षणमा राजनीतिक सहकार्य विथोल्ने यो कार्य न्यायको उपहास हो। हामी यसको घोर भर्त्सना गर्छौं।”
जनमत पार्टीले चौधरीमाथिको पछिल्लो कदमलाई राजनीतिक प्रतिशोधको उदाहरणको रूपमा व्याख्या गर्दै, सरकारलाई कडा चेतावनी दिएको छ—
“यदि चौधरीलाई अविलम्ब रिहा नगरिएमा र लोकतान्त्रिक सहकार्यमा अवरोध जारी रह्यो भने देशव्यापी आन्दोलनको विकल्प बाँकी रहने छैन।”
जनमत पार्टीले उल्लेख गरेको छ कि थरुहट आन्दोलनको पृष्ठभूमिमा टीकापुर घटनापछि चौधरीलाई आममाफी दिइसकिएको भए तापनि, पुनः पुरानो मुद्दाको नाममा गिरफ्तार गर्नु विद्वेषपूर्ण निर्णय हो।
पार्टीले चौधरीको रिहाइका लागि सबै लोकतान्त्रिक शक्ति, मानव अधिकारवादी संस्था र नागरिक समाजलाई संयुक्तरूपमा आवाज उठाउन आह्वान गरेको छ।
यस घटनाले पार्टी एकताको सकारात्मक संकेतलाई धक्का दिने र मुलुकको राजनीतिक स्थायित्वमा प्रश्नचिन्ह खडा गर्ने देखिएको छ।