काठमाडौं। राजधानीमा सम्पन्न युवा साहित्य सम्मेलन देशभरका सिर्जनशील युवाहरूको भव्य समागमका रूपमा सम्पन्न भयो, जहाँ विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने युवाहरुलाई सम्मान गरिएको छ।

वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङले सबैलाई पछाडि पार्दै पहिलो स्थान हासिल गर्दै एक लाख रुपैयाँ नगद जितेकी छिन्। काभ्रेपलाञ्चोक स्थायी घर भएकी विनिताको सशक्त प्रस्तुति र ओजपूर्ण अभिव्यक्तिले निर्णायक समिति मात्र होइन, सम्पूर्ण श्रोतामण्डललाई मन्त्रमुग्ध बनायो।

यसै विधामा दिग्विजय लामिछानेले दोस्रो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ, र इशा थापाले तेस्रो स्थानमा रहँदै ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

निबन्ध प्रतियोगितामा मन छुने विचार र गहकिला अभिव्यक्तिका साथ मनोज बुढा पहिलो बनेका छन्। उनले ५० हजार रुपैयाँ पुरस्कार हात पारे भने, ज्योती घिमिरे दोस्रो स्थानमा रहँदै ३० हजार रुपैयाँ र देबु गिरी तेस्रो हुँदै २० हजार रुपैयाँले सम्मानित भए।

कविता प्रतियोगितामा जीवन आरोही राईको सिर्जनाले निर्णायक समिति र श्रोताको मन जित्यो। उनको कलमले बोलाएको अनुभूति पहिलो स्थानमा पुगेर ५० हजार रुपैयाँको पुरस्कार जित्न सफल भयो। रबिना कँडेल दोस्रो र सन्तोष पौडेल तेस्रो स्थानमा रहेर क्रमशः ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरे।

गजलको दुनियाँमा भने दैलेखका दिपिन सिजापति सबैभन्दा माथि उक्लिए। उनका शेरहरूले दिल जिते र उनलाई ५० हजार रुपैयाँको पुरस्कार दिलाए। अंकित आचार्य दोस्रो (३० हजार) र खिमानन्द जोशी तेस्रो (२० हजार) स्थानमा रहे।

कार्यक्रमका संयोजक तथा राष्ट्रिय युवा संघ नेपालका शिक्षा विभाग प्रमुख कुवेर अधिकारीले अबदेखि हरेक वर्ष यो सम्मेलनलाई अझ भव्य बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै उनले प्रत्येक प्रदेशमा पनि यस्ता साहित्यिक सम्मेलनहरू आयोजना गरिने योजना सुनाए।
देशभरबाट एक हजार दुई सयभन्दा बढी युवा स्रष्टाहरूको सहभागितामा सम्पन्न यो सम्मेलनले नेपाली साहित्यको उज्यालो भविष्यको संकेत दिएको छ।
