काठमाडौं । नेपाल र जापानको मित्रता अझ प्रगाढ बनाउने उद्देश्यले जापानको फुजिनोमिया नगरपालिका र नेपालस्थित काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने ऐतिहासिक पहल सफल भएको छ।
यस महत्वपूर्ण यात्रामा फुजिनोमिया नगरपालिकाका मेयर हिडेतादा सुदोज्यु सहितको १७ सदस्यीय सरकारी प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको थियो। उक्त टोलीमा भाषा अनुवादक तथा समन्वयकको भूमिकामा सहभागी हुनुहुन्थ्यो – नरेश महर्जन।
नरेश महर्जन, जो जापानको फुजीचु कम्पनीमा प्रशिक्षक, सिजुओका प्रिफेक्चरका प्रतिनिधि तथा गुड़विल एम्बेसडर समेत हुनुहुन्छ, उहाँले टोली व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो।
चार दिने नेपाल भ्रमणका क्रममा विभिन्न भेटघाट, संस्कृति आदान-प्रदान तथा आपसी समझदारीका कार्यक्रमहरू सम्पन्न भएका थिए। यस यात्रालाई नेपाल-जापान सम्बन्धको ऐतिहासिक उपलब्धि मानिएको छ।
महर्जनले सामाजिक सञ्जालमार्फत लेख्नु भएको छ:
“यसपालि मेरो नेपाल यात्रा अलिक फरक धारको रह्यो। जापानबाट सरकारी प्रतिनिधिमण्डलको व्यवस्थापन र अनुवादक प्रतिनिधिका रूपमा नेपाल गएको हुँदा, समय निकै सीमित रह्यो। यसपटक मैले आफ्ना अनन्य मित्रहरूलाई भेट्न नपाउनु निकै दुःखद रह्यो। म क्षमाप्रार्थी छु, तर अर्कोपटक नेपाल आउँदा अवश्य भेट्ने वाचा गर्दछु।”
उहाँको यो भूमिकाले नेपाल र जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। नरेश महर्जनजस्तो सक्षम, समर्पित र अन्तर्राष्ट्रियस्तरको सोच भएका व्यक्तिहरूको सक्रियताले देशको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ।