गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको २०२५–२०२७ कार्यकालका लागि सचिव पदमा बासुदेव भट्टले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपालको बैतडी जिल्ला घर भई सन् २०१३ देखि अमेरिकाको नर्थ क्यारोलाइनामा बसोबास गर्दै आएका भट्टले विगत १२ वर्षदेखि यो राज्यलाई आफ्नो कर्मथलो बनाएका छन्। एनआरएनएमा उनको सक्रियता सन २०१५ बाट सुरु भएको हो, र तबदेखि उनले संगठनको विभिन्न तहमा महत्त्वपूर्ण जिम्मेवारी बहन गर्दै आएका छन्।
नेतृत्व अनुभव
- सचिव, एनआरएनए नर्थ क्यारोलाइना च्याप्टर (२०१९–२०२१)
- अध्यक्ष, एनआरएनए नर्थ क्यारोलाइना च्याप्टर (२०२१–२०२३)
- केन्द्रीय सदस्य (BOD), एनआरएनए एनसीसी अमेरिका (२०२३–२०२५)
भट्टले आफ्नो सामाजिक सञ्जालमार्फत नेपाली समुदायलाई आगामी अगस्ट १६ र १७ मा हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन र परिवर्तनका लागि मत दिन आह्वान गरेका छन्। साथै, आफ्नो उम्मेदवारीलाई अझ सबल बनाउनका लागि अग्रज, साथी र समर्थकहरूबाट अमूल्य सुझाव र सल्लाहको अपेक्षा समेत व्यक्त गरेका छन्।
उनको प्रतिबद्धता
उम्मेदवारी घोषणामा भट्टले भनेका छन्—
“सचिवालयबाट दिइने सेवाहरूलाई तिब्र र व्यवस्थित बनाउनेछु। संस्थाको उद्देश्य र विधानमा व्यवस्था भएअनुसार सचिवालयका सबै कामकाजहरू ईमान्दारीपूर्वक र पारदर्शी ढंगले सम्पन्न गर्ने मेरो दृढ संकल्प छ।”
अभियानको यात्रामा यहाँसम्म साथ दिने सबै अग्रज, मित्र र मतदाताप्रति उनले विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि संस्थाको हित र समुदायको एकताको लागि अटल रहने प्रतिज्ञा गरेका छन्।
एनआरएनए अमेरिकामा सचिव पदलाई संस्थाको मेरुदण्ड मानिन्छ, र अनुभवसहितको नेतृत्व क्षमता तथा सेवाभावको मिलनले बासुदेव भट्टलाई बलियो उम्मेदवारको रूपमा स्थापित गरेको छ।