काठमाडौँ, ५ साउन — नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माको पहलमा काठमाडौँ मेडिकल कलेजमा एक दाजु–बहिनीको जटिल कलेजो प्रत्यारोपण निःशुल्क रुपमा सफलतापूर्वक सम्पन्न भएको छ, जसले नेपाली स्वास्थ्य सेवाको इतिहासमा अर्को स्वर्णिम पाना थपेको छ।
मोरङ जिल्ला बुढीगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गरी बहिनीको जीवन बचाएका हुन्। विगत सात वर्षदेखि कलेजोको गम्भीर समस्याबाट ग्रस्त रहेकी रक्षाको उपचार सम्भव नभएको अवस्थामा काठमाडौं मेडिकल कलेजमा प्रत्यारोपणको व्यवस्था गरिएको हो।
यो कलेजो प्रत्यारोपण नेपालमै अत्यन्त जटिल र दुर्लभ सर्जरी मानिन्छ। सर्जरी नेतृत्व liver transplant विशेषज्ञ डा. प्रविन विक्रम थापा, डा. रोशन घिमिरे, हेपाटोलोजिस्ट डा. सागर पौडेल, एनेस्थेसियोलोजिस्ट डा. सुजता निरौला लगायतको दक्ष टोलीले गरेका थिए।
यस सर्जरीमार्फत काठमाडौं मेडिकल कलेजमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण सम्पन्न भएको हो, जसले नेपालको चिकित्साशास्त्रमा नयाँ उचाइ हासिल गरेको छ।
रक्षा बिष्टका बुबाले भने, “मेरो लागि डा. सुनिल शर्मा भगवानझैँ हुनुहुन्छ। उहाँले छोरीको उपचार निःशुल्क गरिदिनुभयो, त्यो पनि यस्तो गाह्रो अप्रेसन। म उहाँप्रति जीवनभर ऋणी रहनेछु।”
डा. सुनिल शर्मा स्वयं काठमाडौं मेडिकल कलेजका संस्थापक हुन्। स्वास्थ्य क्षेत्रमा सेवा–समर्पणका लागि चिनिने डा. शर्माले प्रतिनिधिसभा सदस्यका रूपमा अहिलेसम्म पनि कुनै तलबभत्ता नलिएको तथ्यले उनको त्याग र समर्पण झल्काउँछ।
स्वास्थ्य क्षेत्रमै समर्पित जीवन
सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले डा. शर्माले निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीहरूलाई काठमाडौं मेडिकल कलेज वा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ल्याएर निःशुल्क उपचारको व्यवस्था मिलाउने काम निरन्तर भइरहँदै आएको छ।
उनकै नेतृत्वमा नोबेल मेडिकल कलेजमा मोरङ क्षेत्र नं. ३ का बासिन्दाहरूका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन सेवा सञ्चालनमा ल्याइएको छ। यस सेवाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने धेरैको जीवनमा आशा र भरोसाको दीप जलाएको छ।
दल र पहिचानभन्दा माथि उठेर सेवा
डा. शर्माले कहिल्यै पनि पार्टी, धर्म, जात, लिंग, वा पहिचानको आधारमा सेवा सीमित गरेका छैनन्। “स्वास्थ्य सेवा सबैको हक हो, सेवा सबैलाई समानरूपमा पुग्नुपर्छ” भन्ने मूल मन्त्रमा उनी विश्वास गर्छन्।
उनले हालै मोरङको बेलबारीमा एक एम्बुलेन्स स्थानीय जनताका लागि हस्तान्तरण गरेका छन्। यतिमात्र होइन, उनले आफ्नो निजी पहलमा हालसम्म देशका सात वटा भिन्न–भिन्न स्थानमा एम्बुलेन्स सेवा पुर्याइसकेका छन्।
“नेता भनेको जनताको साँचो अभिभावक” — यो प्रमाणित गरेका छन् डा. शर्मा
राजनीतिक आकांक्षा भन्दा माथि मानवतावादी उद्देश्य बोकेका डा. सुनिल शर्माको नेतृत्व समाजमा प्रेरणा बनेको छ। उनी जस्तो सांसदले प्रतिनिधित्व गरेको क्षेत्र मात्रै नभई सिंगो देशले आफूलाई सुरक्षित महसुस गर्न थालेको छ।
निःशुल्क कलेजो प्रत्यारोपण, निःशुल्क क्याबिन सेवा, एम्बुलेन्स हस्तान्तरण, स्वास्थ्य शिविरहरू – यी सबै डा. शर्माको जनप्रतिनिधिको हैसियतमा भन्दा पनि “जनताको अभिभावक”को रूपमा गरिएका कार्य हुन्।
उनका यस्ता कार्यहरूबाट सन्देश प्रस्ट छ – राजनीति जनताको पीडा बुझ्ने र समाधान गर्ने माध्यम हुनुपर्छ, सत्ताको साधन होइन।