लेखिका: मोनीता मोक्ताङ् तामाङ्
आदरणीय नबिन दाइ,
तपाईंलाई शब्दमा बाँध्न आज हामी जापानबासी नेपालीहरूसँग शायद कुनै शब्द बाँकी छैन होला । जापानको इतिहासमै पहिलो पटक दुई लाखभन्दा बढी नेपालीको कर्मभूमिमा, एनआरएनए जापानको नेतृत्व सम्हालेर तपाईंले जुन ढंगले कार्यकाल पूरा गर्नुभयो, त्यसले तपाईंलाई साँचिकै “सच्चा नेपाली लिडर” भनेर गर्वका साथ चिनाउने ठाउँ दिएको छ ।
तपाईंको यो बिदाई सन्देश लेख्नु हाम्रो लागि निकै कठिन र पीडादायी पनि भयो । बिदाइ गर्ने मन थिएन, तर पनि भारी मनले “धन्यवाद” भन्न बाध्य बनायो ।
संस्थाप्रतिको तपाईंको योगदान, निष्ठा, इमान्दारिता र अथक मिहिनेत नेपाली डायस्पोराको इतिहासमा अमर रहनेछ । तपाईंले आफ्ना व्यक्तिगत खुसीहरू, परिवारसँगको समय, अनि जीवनका थुप्रै मिठा पलहरू त्यागेर संस्था र समुदायको सेवामा समर्पण गर्नुभयो — जुन उदाहरणीय छ।
तपाईंले मात्र संस्थागत जिम्मेवारी हैन, जातीय, क्षेत्रीय, र सांस्कृतिक संघ-संस्थाहरूप्रति पनि आफू “अभिभावक” भई निष्पक्ष, पारदर्शी र सक्रिय भूमिका निर्वाह गर्नुभयो । तपाईंको मुस्कान, मिलनसारिता, र सहृदयता जहाँ पुग्थ्यो, त्यहाँ सबैको मन जित्थ्यो।तपाईं केवल व्यक्तिगत नबिन होइन, अब हामी सबैको नबिन दाइ, नबिन भाई, र नबिन छोरा बन्नुभएको छ, जुन उपलब्धि कुनै कुर्सी, पद वा उपाधिले दिन सक्दैन ।
यस महान यात्राको पछाडि तपाईंका शक्ति स्रोत – तपाईंकी आमाबुवा, तपाईंको जीवनसंगीनी भाउजु, अनि ती दुई साना बाबुहरू प्रति पनि हाम्रो सादर नमन र आभार छ । उहाँहरूका साथ र समर्थन विना यो सब सम्भव हुने थिएन ।
अन्तमा, आगामी एनआरएनए निर्वाचनमा उम्मेदवारी दिएका सम्पूर्ण व्यक्तिहरूलाई विनम्र आग्रह गर्न चाहन्छु –नबिन निउरे जस्ता कर्मशील, समर्पित, र सेवामुलक नेतृत्वबाट पाठ सिकौं।र, जो आउनेछन्, उनीहरूले पनि यस्तै जनविश्वास जित्न सकून् भन्ने कामना गर्दछु।आज तपाईंले यो जिम्मेवारी पुरा गर्दै गर्दा हामी सम्पूर्ण नेपालीलाई भावुक तुल्याएर जानु भएको छ –
ओचुखारे सामा देसिता ।(हाम्रो मुटु, भाव, अनि सम्मान तपाईंप्रति सधैं रहनेछ )सधैं तपाईंको साथमा,मन मुटुमा, ढुकढुकीमा…दाजु, तपाईं हाम्रो गर्व हुनुहुन्छ ।