बाँके कृष्ण केसी— अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड, बाँकेले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३ अर्ब ६ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। संस्थाले ‘साना किसानको समृद्धि, कृषिको रूपान्तरण’ भन्ने नारासहित दीर्घकालीन उद्यमशीलताको विकासलाई लक्ष्य बनाएर बजेट प्रस्तुत गरेको हो।

बजेट सार्वजनिक कार्यक्रमका सभाध्यक्ष संस्थाका अध्यक्ष देवबहादुर ओली थिए भने कार्यक्रमको प्रस्तुति संस्थाका मुख्य प्रबन्धक हरिचन्द्र केसीले गर्नुभएको थियो।

संस्थाले प्रस्तुत गरेको बजेटमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, र सहुलियत कर्जा लगायतका बहुआयामिक कार्यक्रमहरू समेटिएका छन्।
कृषि तथा पशुपालन कार्यक्रम
संस्थाले बेमौसमी तरकारी बीउ वितरणमा ५ लाख ८ हजार, मकै र धानको बीउ वितरणमा ९ लाख ६ हजार, सिँचाइ मोटरमा २ लाख, र कृषि तालिममा २ लाख बजेट विनियोजन गरेको छ।पशुपालनतर्फ ८ लाख ४० हजारको पशु बीमा, ८ लाखको घाँस काट्ने मेसिन र स्प्रे ट्याङ्की, ६ लाखको खोर सुधार, १ लाख ६० हजारको राँगाको पाडो, १ लाख ६४ हजारको तालिम, ७ लाख ६४ हजारको अवलोकन भ्रमण तथा २ लाखको सुत्केरी पोषण कार्यक्रम समावेश छ।

सामाजिक तथा संस्थागत कार्यक्रम
विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरणमा ६० हजार, शेयर सदस्य, कर्मचारी र सञ्चालक तालिममा ५८ लाख ४८ हजार, जेष्ठ सदस्य तीर्थयात्रामा ११ लाख २८ हजार, महिला सदस्यका लागि निःशुल्क स्वास्थ्य शिविरमा २ लाख १९ हजार, पूर्वाधार निर्माणमा ८२ लाख विनियोजन गरिएको छ।

कर्जा तथा लगानी
व्यावसायिक कृषकलाई सहुलियत कर्जामा ५० करोड र मझौला तथा ठूला फर्महरूलाई कृषि तथा पशु क्षेत्रमा २० करोड लगानीको व्यवस्था गरिएको छ।
संस्थाले यो आर्थिक वर्षमा ८ करोड नाफा गर्ने लक्ष्य राखेको छ। साथै, अष्टम राय सिमिल र अष्टम दूध डेरीको आधुनिकीकरण तथा व्यावसायिक कृषि/पशुपालनमा थप ध्यान दिइने उल्लेख गरिएको छ।
कार्यक्रमको सञ्चालन लेखा प्रबन्धक नारायण खनालले गर्नुभएको थियो।