काठमाडौं । दार्जिलिङ माईत, नेपाली श्रीमान् र हङकङलाई कर्मथलो बनाईरहेकी समाजसेवी पुनम श्रेष्ठ नेपाली नाम सुन्नासाथ हुरुक्कै हुने व्यक्तित्वका रूपमा चिनिन्छिन्। उहाँ जहाँ बसे पनि मातृभूमि नेपाललाई मनको मूल ठाउँमा राख्दै आउनुभएको छ।
हालै तीव्र बनेको जेन जि आन्दोलन मा घाइते भएका युवाहरूप्रति सहानुभूति जनाउँदै श्रेष्ठले निरन्तर आर्थिक सहयोग पुर्याइरहनुभएको छ। आन्दोलनमा लागेको युवाको बलिदान र घाइतेको पीडाप्रति उहाँले प्रष्ट भावनात्मक संवेदनशीलता देखाउँदै “देशलाई नयाँ पुस्ताले सही बाटोमा लैजान sacrifice गरेका छन्, हामी परदेशीले पनि सक्दो सहयोग गर्नुपर्छ” भन्ने सन्देश दिनुभएको छ।
यो पहिलो पटक होइन, विगतका दिनमा पनि उहाँको सहयोग निरन्तरता पाएको छ। २०७२ सालको महाभूकम्पका बेला उहाँ अग्रपंक्तिमा उभिएर राहत संकलन गरी पीडितलाई हातेमालो गर्नुभएको थियो। त्यस्तै, कोभिड–१९ महामारीका कठिन घडीमा पनि आवश्यक सामग्री र आर्थिक सहयोग जुटाउँदै नेपालमा संकट झेलिरहेका नेपालीहरूको लागि सहयोग पुर्याउन उहाँ सक्रिय रहनुभएको थियो।
हङकङमा बसोबास गर्दै पनि पुनम श्रेष्ठ नेपालप्रतिको माया र कर्तव्यलाई भुल्नुभएन। उहाँले भन्नुहुन्छ, “विदेशमा बस्दा पनि नेपालको नाम सुन्दा गर्वले भरिन्छु। नेपाली भएर जन्मिनु मेरो सबभन्दा ठूलो सम्पत्ति हो। जहाँ भए पनि मातृभूमिप्रतिको जिम्मेवारी पुरा गर्नु नै सबै नेपालीको कर्तव्य हो।”
देशभित्रका पीडादायी घडीमा सधैं साथ दिनु, विपद् परेको बेलामा आफ्नो सानो प्रयासलाई ठूलो योगदानमा परिणत गर्नु उहाँको विशेषता हो। पुनम श्रेष्ठ जस्ता व्यक्तिहरूले देखाएको निस्वार्थ योगदानले देशभित्र मात्र होइन, विश्वभर छरिएका नेपालीलाई पनि प्रेरणा दिएको छ।