काठमाडौं । जेन जि आन्दोलनपश्चात् देशमा भएको ऐतिहासिक सत्ता परिवर्तनसँगै पूर्वन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा बन्न लागेको नयाँ सरकार विस्तारको प्रक्रिया तीव्र बनेको छ। सरकारका महत्त्वपूर्ण मन्त्रालयहरूको नेतृत्वका लागि योग्य र अनुभवी व्यक्तित्वहरूको खोजी भइरहेको अवस्थामा विशेषगरी जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका लागि ख्यातिप्राप्त वैज्ञानिक तथा इमानदार व्यक्तित्व डा. रमेश आचार्य अग्रणी उम्मेदवारका रूपमा चर्चामा रहेका छन्।
अन्तर्राष्ट्रिय स्तरमा स्थापित छवि, १०४ भन्दा बढी देशमा सेमिनार प्रस्तुत गर्ने अनुभव र विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरूसँगको प्रत्यक्ष सम्पर्कसहित डा. आचार्यलाई स्वास्थ्य मन्त्री मात्र नभई परराष्ट्र मन्त्रालयको जिम्मेवारीका लागि समेत विचाराधीन गरिएको श्रोतले जनाएको छ।
डा. आचार्यको योगदान केवल चिकित्सा विज्ञान र अनुसन्धानमा सीमित छैन। कोभिड–१९ महामारीको गम्भीर अवस्थादेखि नै उहाँले जनस्तरमा सचेतना अभिवृद्धि, प्रत्यक्ष स्वास्थ्य परामर्श र सहयोग अभियान सञ्चालन गरेर हजारौं नेपालीलाई लाभान्वित गर्नुभएको थियो। महामारीका चुनौतीपूर्ण दिनहरूमा देखाउनुभएको नेतृत्व र निःस्वार्थ सेवाभावले उहाँलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विशिष्ट छवि दिलाएको छ।
यदि उहाँ स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त हुनुभयो भने ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढीकरण, अनुसन्धान र नवीन प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्ने नीतिहरू अघि सार्ने अपेक्षा गरिएको छ। यससँगै, स्वास्थ्य शिक्षा, उपचार गुणस्तर सुधार र अन्तर्राष्ट्रियस्तरका स्वास्थ्य प्रविधि नेपाल भित्र्याउन उहाँले ठुलो भूमिका खेल्न सक्ने जनाइएको छ।
यस्तै, परराष्ट्र मन्त्रालयको नेतृत्व पाएमा डा. आचार्यको अन्तर्राष्ट्रिय अनुभव, कूटनीतिक सम्पर्क र वैज्ञानिक पृष्ठभूमिले नेपाललाई विश्वमञ्चमा अझ सबल बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी स्वास्थ्य प्रविधि आदानप्रदान, अनुसन्धानमा सहकार्य र वैदेशिक लगानी आकर्षणमा उहाँको योगदान महत्वपूर्ण हुने विश्लेषकहरूको मूल्याङ्कन छ।
डा. आचार्यलाई योग्य, इमानदार र अनुभवी व्यक्तित्वको रूपमा पहिचान गरिँदै आएको छ। उहाँलाई सरकारको उच्च जिम्मेवारीमा देख्नुपर्ने चौतर्फी माग तीव्र गतिमा बढिरहेको छ। स्रोतहरूका अनुसार, कार्की नेतृत्वको सरकार विस्तारको प्रारम्भिक छलफलमै उहाँको नामलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।
नेपालको स्वास्थ्य सुधार र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गर्नसक्ने व्यक्तित्वका रूपमा डा. रमेश आचार्य मन्त्री पदको बलियो दाबेदार बन्नु वर्तमान राजनीतिक परिवेशको एक उल्लेखनीय पक्षका रूपमा हेरिएको छ।
