अमेरिकाको Akron, Ohio मा नेपाली समुदायको ठूलो उत्साहबीच राष्ट्रियता र नेपालीपन झल्काउने बहुप्रतिक्षित चलचित्र “यो मन त मेरो नेपाली हो” को विशेष प्रदर्शन हिजो (शनिबार, सेप्टेम्बर ६, २०२५) भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम Regal Cinema, 1210 Independence Ave, Akron, OH 44310 मा आयोजना गरिएको थियो। गेट ३:१५ बजे खुलेपछि हलमा ठूलो संख्यामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू उपस्थित भएका थिए। हलमा देशप्रेमको जोश, नेपालीपनको गर्व र विदेशमा बसे पनि नेपालप्रतिको आत्मीयता झल्किएको देखिन्थ्यो।
चलचित्रको कथा तथा निर्देशन नार प्रधान (मित्र) ले गरेका हुन् भने संवाद तथा पटकथा शिवम अधिकारी र निर्माण ज्ञान बी. प्रधान (रोशन) ले गरेका हुन्। चलचित्रमा नेपाली पहिचान, सांस्कृतिक गौरव र राष्ट्रप्रेमलाई अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने प्रयास गरिएको छ।
यस विशेष शो सफल बनाउनमा मनोरथ खनाल को भूमिका विशेष उल्लेखनीय रह्यो। उनले अमेरिकामा चलचित्र प्रवर्द्धन र प्रचार–प्रसारमा अग्रसर रहँदै Akron क्षेत्रमा बसेका नेपालीलाई सक्रिय रूपमा सहभागी गराएका थिए।
कार्यक्रमलाई B.C.A.A. Inc. ले समर्थन गरेको थियो भने टिकटहरू Akron Nepali Stores मा उपलब्ध गराइएको थियो। टिकट दर २० डलर रहेको यस शोले नेपाली समाजमा ऐतिहासिक उपस्थितिको छाप छोड्यो।
हिजो सम्पन्न प्रदर्शनले अमेरिकामा रहेका नेपालीहरूलाई मात्र होइन, नेपालप्रेमी विदेशी दर्शकलाई समेत आकर्षित गरेको आयोजकहरूले बताएका छन्।