काठमाडौं, भदौ १३ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सांस्कृतिक हल, सिंहदरबारमा आज ‘भिजिट नेपाल २०२५’ म्यागजिनको औपचारिक शुभारम्भ गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय वद्री प्रसाद पाण्डेले म्यागजिन सार्वजनिक गर्नुभयो। सो अवसरमा नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी, होटल एशोसिएसन अफ नेपाल (HAN) का अध्यक्ष विनायक शाह, पर्यटन व्यवसायी, संघ–संस्थाका पदाधिकारी तथा पर्यटन क्षेत्रका distinguished प्रतिनिधिहरूको उपस्थिति थियो।
गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का उपमहासचिव तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक सोमनाथ सापकोटाले एनआरएनए एनसीसी अमेरिका (NCC USA) बाट प्रारम्भ गरिएको ‘भिजिट नेपाल २०२५’ म्यागजिनलाई अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण अभियानका रूपमा प्रस्तुत गर्नुभयो।
उहाँले भन्नुभयो, “पर्यटन केवल संख्या र पूर्वाधारको कुरा मात्र होइन, यो कथा, सम्बन्ध र राष्ट्रिय गौरवसँग जोडिएको विषय हो। विश्वभर रहेका ९० वटा एनसीसी र हाम्रा एनआरएन साथीहरूको साथमा हामी नेपाललाई हिमाल मात्र नभई सुरक्षित आकाश, संस्कृति, अध्यात्म, लुम्बिनी र बुद्धको शान्तिको सन्देश सहित चिनाउने छौं।”
यस अवसरमा लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपाने, नेपाल पर्वतारोहण संघ (NMA) का उपाध्यक्ष, नेपाल रेस्त्रुरेन्ट एशोसिएसन (NARA) का पूर्व अध्यक्ष शिव अधिकारी, पत्रकार महासंघ (FNJ) का अध्यक्षसहित विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू, दक्षिण सुडान एनसीसी अध्यक्ष रामप्रसाद पाध्या, पर्यटन व्यवसायी तथा एनआरएन मित्रहरूको उपस्थिति रहेको थियो।
सापकोटाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै विशेषगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्थल उपलब्ध गराएर यो महत्वपूर्ण अभियानलाई आफ्नो जिम्मेवारीका रूपमा स्वीकार गरेकोमा धन्यवाद प्रकट गर्नुभयो।
‘भिजिट नेपाल २०२५’ म्यागजिनमार्फत अमेरिकासहित विश्वव्यापी स्तरमा नेपालको पर्यटन प्रवर्द्धनमा नयाँ माइलस्टोन स्थापित हुने विश्वास गरिएको छ।