काठमाडौँ, भदौ — सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको शेष घले संयोजकत्वको उच्चस्तरीय समितिले गैर–आवासीय नेपाली संघ (एनआरएनए) को सम्पूर्ण जिम्मेवारी नयाँ नेतृत्वलाई हस्तान्तरण गरेको छ। शुक्रबार राजधानीमा आयोजित विशेष समारोहबीच निवर्तमान समितिले नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई करिब ८३ लाख ६२ हजार रुपैयाँ नगदसहित जिन्सी सम्पत्ति हस्तान्तरण गरेको हो।

कार्यक्रममा विश्वभर रहेका एनआरएनए सदस्यहरू भर्चुअल माध्यममार्फत समेत जोडिएका थिए।
घलेको आह्वान : “एनआरएनए साझा परिवार”
समारोहलाई भर्चुअल सम्बोधन गर्दै संयोजक डा. शेष घलेले प्रवासी नेपालीहरूको योगदानको प्रशंसा गर्दै संस्थालाई अझ प्रभावकारी बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए।

उनले भने, “एनआरएनए केवल संगठन मात्र होइन, यो विश्वभर छरिएका नेपालीहरूको साझा परिवार हो। यसलाई पारदर्शिता र विश्वासका आधारमा अघि बढाउन नयाँ नेतृत्व सक्षम हुनेछ भन्ने विश्वास लिएको छु।”
८३ लाखभन्दा बढी रकम हस्तान्तरण
उच्चस्तरीय समितिकी सदस्य जानकी गुरुङले निर्वाचन सम्पन्न गरेपछि ८३ लाख ६२ हजार २ सय २८ रुपैयाँ बचत भएको र सो रकमसहित कम्प्युटर, प्रिन्टर लगायत जिन्सी सम्पत्तिहरू नयाँ समितिलाई जिम्मा दिइएको जानकारी दिइन्।
श्रेष्ठको अडान : “अधिकृत एनआरएनए हामी नै”
कार्यक्रममा भौतिकरूपमै उपस्थित नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले विगतका विवाद र चुनौतीहरूको स्मरण गर्दै सबैलाई एकताको प्रक्रियामा सहभागी हुन आह्वान गरे।

उनले भने, “हामीले कठिनाइबीच पनि पारदर्शिता र निष्पक्षताको सिद्धान्तलाई छोडेनौँ। अब प्रवासी नेपालीको अधिकार, हित र परिचयलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नु हाम्रो प्राथमिकता हुनेछ।”
श्रेष्ठले बद्री केसी पक्षले अक्टोबरमा महाधिवेशन गर्ने भनिए पनि त्यो सम्भव नभएको स्पष्ट पार्दै आफूहरूको नेतृत्व नै आधिकारिक एनआरएनए भएको दाबी गरे।
पूर्वअध्यक्षहरूको जोड : एकताको विकल्प छैन
पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले एकताबद्ध एनआरएनएको विकल्प नभएको उल्लेख गर्दै नागरिकता र सम्पत्ति सुरक्षासहितका विषयमा आवाज उठाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए।

त्यसैगरी पूर्वअध्यक्ष देवमान हिराचन, सदस्य विनोद कुँवर, अभियन्ता आरके शर्मा लगायतले पनि नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई अझ लोकतान्त्रिक, समावेशी र पारदर्शी बनाउन आग्रह गरे।
नयाँ समितिको प्राथमिकता
नवनिर्वाचित उपाध्यक्ष, महासचिव र अन्य पदाधिकारीहरूले पनि धारणा राख्दै प्रवासी नेपालीहरूको नागरिकता, दोहोरो नागरिकता, श्रमिक अधिकार, लगानी प्रवर्द्धन र आपत्कालीन अवस्थामै सहयोग पुर्याउने अभियानलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
समारोहमा सचिव चिन्तामणि सापकोटा, कोषाध्यक्ष ठाकुर ढुंगाना लगायत पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।