काठमाडौँ, भदौ — गैर–आवासीय नेपाली संघ (NRNA) मा लामो समयदेखि जारी आन्तरिक असहमति र कानुनी प्रक्रियापछि अन्ततः महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ।

निवर्तमान अध्यक्ष एवं उच्चस्तरीय समिति सदस्य विनोद कुँवरले शुक्रवार एक वक्तव्य जारी गर्दै आफ्नो कार्यकालमा साथ दिने सबैप्रति आभार प्रकट गर्दै नव–निर्वाचित अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

मार्च २०२२ को महाधिवेशनमा उत्पन्न असामान्य परिस्थितिबाट संस्था संकटमा परेको बेला नेतृत्वको जिम्मेवारी लिन बाध्य भएको स्मरण गर्दै कुँवरले भने, “त्यो कठिन घडीमा संस्थालाई एकता र निरन्तरतर्फ लैजाने ऐतिहासिक जिम्मेवारी हामीले पूरा गरेका छौँ।”

उनले संस्थालाई शून्य अवस्थाबाट अघि बढाउँदै कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन, २२ भन्दा बढी मुलुकमा एनसीसी (National Coordination Council) स्थापना तथा करोडौँ रुपैयाँको सामाजिक तथा च्यारिटी कार्यक्रम सम्पन्न गर्न सफल भएको जानकारी दिए। साथै महाधिवेशन सम्पन्न गरेर करिब ८३ लाख रुपैयाँ नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिएको उल्लेख गर्दै कुँवरले यसलाई आर्थिक पारदर्शिता र संस्थागत सबलीकरणतर्फको उदाहरणीय कदमको रूपमा चित्रण गरे।

कुँवरले पूर्वअध्यक्ष डा. शेष घले, सल्लाहकार जमुना घले, सोनाम लामा लगायतका व्यक्तित्व तथा सर्वोच्च अदालत, निर्वाचन समिति र नेपाल सरकारका सम्बन्धित निकायलाई धन्यवाद ज्ञापन गरेका छन्।
उनले भने, “संस्थालाई पुनः एकताबद्ध बनाउँदै नयाँ नेतृत्वलाई निर्विरोध जिम्मेवारी सुम्पिन पाउनु हाम्रो लागि गौरवको विषय हो। अबको प्रमुख दायित्व विश्वभरका एनसीसीलाई एउटै सूत्रमा बाँध्दै एनआरएनएलाई अझ सबल, एकीकृत र प्रभावकारी बनाउनु हुनेछ।”
नव–निर्वाचित अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई बधाई दिंदै कुँवरले आगामी दिनमा पनि समर्थन, सहयोग र योगदान निरन्तर रहने बताएका छन्।