हङकङ – गैरआवासीय नेपाली संघ (एनआरएनए), हङकङले यहाँ रहेका नेपालीहरूको उत्साहपूर्ण उपस्थितिमा हरितालिका तीज भव्यतापूर्वक मनाएको छ।एनआरएनए हङकङ महिला फोरम र नेपाली महिला संघ हङकङको संयुक्त आयोजनामा शनिबार साँझ जोर्डनस्थित इन्डिया क्लबमा “तीज उत्सव २०२५” भव्य समारोहपूर्वक सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि हङकङका लागि नेपाली महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखक रहेका थिए भने अध्यक्षता नेपाली महिला संघ हङकङकी अध्यक्ष तथा एनआरएनए आईसीसी महिला सचिव टीका गुरुङले गरेकी थिइन्।

उत्सवमा याउचि मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, हङकङ नेपाल पर्यटन दूत प्रकाश पुन, एनआरएनए आईसीसी सह-कोषाध्यक्ष अमृता थापा, एनआरएनए हङकङका पूर्वअध्यक्ष गोकर्णप्रसाद ढकाल, एनआरएनए हङकङ आईसीसी सदस्य डिल्ली विक, हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष रिता गुरुङ लगायत अग्रणी व्यक्तित्वको विशेष उपस्थिती रहेको थियो।
सांस्कृतिक सम्पदा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपाली दिदीबहिनीहरूको बाक्लो सहभागिता रहेको आयोजक समितिले जनाएको छ।
“हाम्रो कला, संस्कृति र चाडपर्वलाई जीवन्त राख्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। विदेशमै भएर पनि आफ्नो मौलिकता र परम्परा यसरी मनाउन पाउनु गर्वको विषय हो,” एनआरएनए हङकङका अध्यक्ष अनु राईले भाव व्यक्त गरिन्।
नेपालबाट आएका चर्चित लोकगायक सिद्धार्थ आले मगरले प्रस्तुत गरेका तीज गीतहरूले कार्यक्रमलाई झनै रमाइलो र रोमाञ्चक बनाएको थियो। साथै, तीज क्विन प्रतियोगिता, लक्की ड्र लगायतका विविध मनोरञ्जनात्मक गतिविधिले उपस्थितिहरूलाई आकर्षित गरेको थियो।
युवा संयोजक मनोज गौतमले सहभागीलाई ३–३ किलो चिकेनपिस उपहारस्वरूप वितरण गरेपछि कार्यक्रम थप रोमाञ्चक बनेको थियो।यसै अवसरमा एनआरएनए हङकङका नवनिर्वाचित तथा नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामना आदान–प्रदान गरिएको थियो।