काठमाडौं ।बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने भनिएको १२औँ महाधिवेशन तथा निर्वाचनका लागि प्रतिनिधि (मतदाता) दर्ता प्रक्रिया सम्पन्न भएको छ।
संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार ५६ देशबाट ४,६५९ जनाले स्मार्ट एनआरएनए एपमार्फत आफ्नो नाम दर्ता गरेका छन्। उनले दर्ता भएका नामावलीलाई राष्ट्रिय समितिहरूले प्रमाणीकरण गरेपछि अन्तिम रूप दिइने जानकारी दिनुभयो।
संघको विधानअनुसार महाधिवेशनमा वर्तमान कार्यसमिति, पूर्वपदाधिकारी, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का वर्तमान र पूर्व सदस्यहरू प्रतिनिधि बन्न पाउने व्यवस्था छ। प्रमाणीकरणपछि करिब ३,४०० प्रतिनिधिलाई मात्र मतदानमा सहभागी गराइने अनुमान गरिएको छ।
डा. शर्माका अनुसार प्राप्त आवेदनमध्ये आइसिसी र एनसीसीमा विगतमा एक कार्यकाल काम गरेका व्यक्तिहरूको पहिचान गरी आइसिसीले नामावली एनसीसीलाई पठाउनेछ र एनसीसीले सो सूचीलाई अन्तिम रूप दिनेछ।
संघको १२औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १३ तारिखसम्म काठमाडौंमा हुने विश्व सम्मेलन तथा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने गरी तय गरिएको छ।
यसअघि संघले अधिवक्ता डा. राजेन्द्र घिमिरे प्रमुख आयुक्त रहने गरी चिरन्जीवी ढकाल, टिबी कार्की, प्रीतम श्रेष्ठ, रजनी प्रधान, होमनाथ पाण्डे र प्रकाश सापकोटा सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ। साथै, अनलाइनमार्फत हुने निर्वाचनमा कानुनी सल्लाहकारको भूमिकामा अधिवक्ता मुकुन्द नेउपाने रहनेछन्।
एनआरएनए महाधिवेशनलाई यसपटक प्रवासी नेपालीबीचको सर्वाधिक प्रतिस्पर्धात्मक निर्वाचन मानिएको छ, जसमा नयाँ नेतृत्व छनोटसँगै संगठनको भावी दिशा निर्धारण हुने अपेक्षा गरिएको छ।