भर्जिनिया, अमेरिका ।गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाको १४औं वार्षिक साधारण सभा तथा शपथ ग्रहण समारोह भव्य रूपमा भर्जिनियामा सम्पन्न भएको छ। कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय परिषद् (ICC) का अध्यक्ष महेश कुमार श्रेष्ठले नयाँ कार्यकाल (२०२५–२०२७) का लागि एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र शाहलाई विशेष शुभकामना सन्देश पठाउनुभएको थियो।
श्रेष्ठको उक्त शुभकामना मन्तव्यलाई आईसीसी महासचिव बी. आर. लामाले सभामा प्रस्तुत गर्दै वाचन गर्नुभयो। सन्देशमार्फत अध्यक्ष श्रेष्ठले शाहको नेतृत्वमा एनसीसी अमेरिकाले आगामी दिनमा संगठनात्मक सबलीकरण, नेपाली समुदायबीच एकता र प्रवासी नेपालीको हकहितमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको थियो।
अध्यक्ष श्रेष्ठले अमेरिकामा बस्ने नेपाली समुदायलाई विश्वव्यापी एनआरएनए अभियानसँग थप निकट बनाउन सतेन्द्र शाहको नेतृत्व महत्त्वपूर्ण हुने उल्लेख गर्दै, “एनआरएनए अब केवल संस्थागत संरचनामा मात्र सीमित छैन, यो नेपाली पहिचान, सशक्तिकरण र अवसर सिर्जनाको साझा मञ्च बनेको छ,” भन्नुभएको शुभकामनामा प्रष्ट पारिएको थियो।
सभामा उपस्थित अतिथिहरूले पनि नयाँ नेतृत्वप्रति उच्च अपेक्षा व्यक्त गर्दै, अमेरिकामा रहेका प्रवासी नेपालीको आवाजलाई अझ सबल बनाउन र मातृभूमिसँग जोड्ने सेतु निर्माणमा अध्यक्ष शाहको कार्यकाल ऐतिहासिक हुने आशा व्यक्त गरे।
भर्जिनियाको सभामा एनआरएनए अमेरिकाका पूर्व अध्यक्षहरू, सल्लाहकार, पदाधिकारी, विभिन्न राज्यका प्रतिनिधिहरू, समुदायका प्रतिष्ठित व्यक्तित्व र स्थानीय नेपाली संघ–संस्थाका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यससँगै एनआरएनए एनसीसी अमेरिका २०२५–२०२७ को नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेको छ।