काठमाडौं – अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र गैर–आवासीय नेपाली संघ (एनआरएनए) बीच आप्रवासी श्रमिकहरूको हितका लागि महत्वपूर्ण सहकार्यको सहमति भएको छ। नेपाली आप्रवासी श्रमिकहरूको क्षमता विकास, आप्रवासनसम्बन्धी नीतिगत पैरवी तथा मानसिक स्वास्थ्यजस्ता विषयमा आगामी ९ महिनासम्म संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरिने भएको छ।
यो सहकार्यका लागि आइएलओले संघलाई आर्थिक सहयोग गर्ने समझदारी भएको हो। नेपालका लागि आइएलओ कार्यालयका निर्देशक नुमान ओजकान र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष बद्री केसीले काठमाडौंस्थित एनआरएनएको कार्यालयमा आयोजित कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
यसअघि कोभिड–१९ महामारीका कारण प्रभावित आप्रवासी श्रमिकहरूको उद्धार तथा सहयोगका लागि आइएलओले संघलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो। सो समयमा संघले देखाएको सक्रियता र पारदर्शी कार्यशैलीको सकारात्मक मूल्याङ्कनकै आधारमा नयाँ परियोजना अघि सारिएको अध्यक्ष केसीले जानकारी दिए।
“आप्रवासी श्रमिकको समस्या जटिल र गम्भीर भएकाले व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन, बाह्य स्रोत र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक हुन्छ,” अध्यक्ष केसीले बताए, “यही उद्देश्यले सुरु गरिएको यो सहकार्यलाई निरन्तरता दिनु संघको अभियानमा अर्को महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ।”
यो सहकार्यले विदेशमा रहेका नेपाली श्रमिकको हकहित सुनिश्चित गर्न, नीतिगत तहमा आवाज बुलन्द गर्न तथा मानसिक स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।