अमेरिका— पछिल्ला वर्षहरूमा तीजको रौनक केवल नेपालमै सिमित नभई विश्वभरका नेपाली समुदायमा फैलिंदै गएको छ । यस वर्ष पनि त्यही उत्साह झल्किएको छ । यूरोप, अमेरिका र अष्ट्रेलियासम्म पुगेर चर्चित कलाकारहरूले तीज विशेष कार्यक्रमलाई धमाकेदार बनाइरहेका छन् ।
यसै क्रममा अमेरिका विभिन्न सहरमा सांगीतिक यात्रामा रहेका चर्चित कलाकारहरू— बद्रि पंगेनी, प्रताप दाश, एलिना चौहान, कला लम्साल लगायतले नायग्रा फल्स वरिपरि रहेका नेपाली समुदायसँगै तीजको उल्लास साँझ मनाए ।
नायग्रा फल्स नजिकै रहेको द लुक्ला हिमालयन एण्ड साउथ इण्डियन किचन मा आयोजित कार्यक्रममा उल्लेख्य संख्यामा नेपालीहरूको सहभागिता थियो । रंगीन पोशाक, मिठा परिकार, गीत–संगीत र नृत्यसहित कार्यक्रम साँच्चिकै नेपालकै माहोल झल्किने खालको रह्यो ।
कलाकारहरूले लोकप्रिय तीज गीत प्रस्तुत गर्दै उपस्थितलाई नचाए । कार्यक्रमलाई विविध सांस्कृतिक प्रस्तुतीहरूले झन् जीवन्त बनाएको थियो ।
कार्यक्रम संयोजनमा संलग्न लोकनाथ अधिकारीले भने,
👉 “विदेशमा रहँदा यस्ता चाडपर्वले नेपालीहरूको आपसी सद्भावना र भाइचारा बढाउँछ । साथै नयाँ पुस्तालाई हाम्रो कला, संस्कृति र संस्कार बुझाउने महत्त्वपूर्ण माध्यम बनेको छ।”
कार्यक्रममा सहभागी नेपालीहरूले सामूहिक रूपमा भेला भएर तीज मनाउँदा माइतीको सम्झना ताजा भएको र अमेरिकामा पनि त्यो न्यास्रो मेटिएको अनुभूति व्यक्त गरे ।
अमेरिकाको भूमिमा तीजको यस्तो उत्साहपूर्ण उल्लासले फेरि पुष्टि गरेको छ— नेपाली जहाँ पुगे पनि आफ्ना मौलिक चाडपर्वलाई उतिकै सम्मानसाथ जगेर्ना गर्छन् र सारा समुदायलाई एउटै डोरीमा बाँध्ने माध्यम बनाउँछन् ।