अगस्ट २५, वासिङ्टन डीसी।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी) अमेरिकाका निवर्तमान अध्यक्ष डा. अर्जुन बञ्जाडेले आफ्नो कार्यकाल (२०२३–२०२५) सकिएपछि हार्दिक आभार, बधाई र शुभकामना व्यक्त गर्दै विशेष वक्तव्य जारी गरेका छन्।
उहाँले जुलाई २०२३ मा सुरु भएको अध्यक्षीय यात्रादेखि अगस्ट २०२५ मा पद हस्तान्तरणसम्मका अनुभव, चुनौती र उपलब्धिहरू स्मरण गर्दै सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा सहकर्मीहरू प्रति कृतज्ञता प्रकट गर्नुभएको छ।
डा. बञ्जाडेले भन्नुभयो, “अध्यक्ष पदमा निर्वाचित हुँदा गरेको संकल्पअनुसार केही काम सम्पन्न भए, केही आंशिक रूपमा मात्र पूरा भए भने केही विषयहरूमा अपेक्षित प्रगति गर्न सकिएन। यस यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र मार्गदर्शन गर्ने सबैप्रति म हृदयदेखि आभारी छु।”
उहाँले निर्वाचन सम्पन्न गराउन महत्त्वपूर्ण योगदान पुर्याउने निर्वाचन आयोगका प्रमुख टुक प्रसाद रेग्मी र सदस्य बिनोद सुवेदीको परिपक्वता तथा समर्पणको खुलेर प्रशंसा गर्नुभएको छ। साथै, अन्योलपूर्ण परिस्थितिमा पनि कार्यक्रममा सहभागी भई गरिमा बढाइदिनुभएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र प्रसाद पाण्डेप्रति विशेष आभार व्यक्त गर्नुभएको छ।
वार्षिक साधारण सभा तथा पदग्रहण कार्यक्रमलाई सफल बनाउन संयोजक डा. राजन पन्त, सह–संयोजक दधि राम ढुंगाना, भर्जिनिया च्याप्टरका सदस्यहरू तथा सहभागी साथीहरूको योगदानलाई उहाँले उच्च सम्मान गर्नुभएको छ।
परिवारको साथबारे उल्लेख गर्दै डा. बञ्जाडेले श्रीमती डा. अञ्जु खरेल बञ्जाडे, छोरा–छोरी तथा सम्पूर्ण परिवारप्रति विशेष धन्यवाद दिँदै भन्नुभयो, “अञ्जुको सहयोग बिना अध्यक्ष पदमा सफलता हासिल गर्नु र संस्थामा समय दिन सम्भव थिएन।”
यसै अवसरमा, डा. बञ्जाडेले एनआरएनए अमेरिकाका नवनिर्वाचित अध्यक्ष सतेन्द्र साह तथा केन्द्रदेखि राज्य तहसम्म निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। साथै, नयाँ कार्यसमितिलाई एकता, अनुशासन र जिम्मेवारीपूर्वक काम गर्न आह्वान गर्दै कुनै पनि बहानामा अवरोध नगरी संस्थागत हितमा योगदान पुर्याउन आग्रह गर्नुभएको छ।
एनआरएनए अमेरिकाको दुई वर्षे कार्यकाल सम्पन्न गर्दै डा. अर्जुन बञ्जाडेले अन्तिममा भनेका छन्, “तपाईंहरूको काममा मेरो समर्थन र सहयोग सधैं रहनेछ।”