एचबी ताम्राकार, एसनेपाल न्युज—अगस्ट १७ र १८, २०२५ मा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनले नयाँ समीकरण र शक्तिको उदय स्पष्ट देखाएको छ। यसपटकको निर्वाचनले दुई युवालाई विशेषगरी चर्चाको केन्द्रमा ल्याएको छ — प्रिन्स युवराज कार्की र सुजित सिंह। अहिले अमेरिकाभरि यी दुवैलाई ‘किङ् मेकर’का रूपमा सम्बोधन गर्न थालिएको छ।

सतेन्द्र शाहको टिम विजयी हुने ठोकुवा
चुनावअघि नै प्रिन्स युवराज कार्की र सुजित सिंहले सतेन्द्र शाहको नेतृत्वमा बनेको टिम विजयी हुनेछ भन्ने ठोकुवा गरेका थिए। त्यो अनुमान मात्र नभई योजनाबद्ध रणनीति पनि भएको आजको नतिजाले प्रमाणित गरिदिएको छ। शाहले भारी मतान्तरले दुई प्रतिस्पर्धीलाई पछि पार्दै ऐतिहासिक विजय हासिल गर्दा कार्की–सिंहको भूमिका निर्णायक देखिएको छ।
‘डे वान’ देखि निरन्तर समर्थन
चुनावी मैदानमा अन्य धेरै वरिष्ठ भनिने नेताहरू दुई विकल्प बोकेर अल्झिरहेका बेला कार्की र सिंह सुरु दिनदेखि नै शाहको पक्षमा उभिए। उनीहरूले प्रष्ट भनिदिएका थिए — “अबको भविष्य सतेन्द्र शाहकै काँधमा छ, उहाँको विकल्प छैन।” यही दृढ विश्वास र निरन्तर प्रयासको कारणले शाहको विजय सुनिश्चित भएको मानिन्छ।
केपी ढकाललाई पनि निर्विरोध बनाउन सहयोग
यसअघि क्यालिफोर्नियामा पनि यी दुवै युवाले आफ्नो प्रभावशाली नेतृत्व प्रदर्शन गरिसकेका थिए। केपी ढकाललाई निर्विरोध अध्यक्ष बनाउन प्रिन्स युवराज कार्की र सुजित सिंहले खेलेको भूमिकाले सबैलाई चकित पारेको थियो।
उनीहरूले ढकाललाई समर्थन गरेपछि अरु ४–५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुपर्ने अवस्था आयो। परिणाम स्वरूप केपी ढकाल निर्विरोध निर्वाचित भए।
अमेरिका भरी पकड
प्रिन्स युवराज कार्की र सुजित सिंह दुवै क्यालिफोर्निया निवासी व्यवसायी भए पनि अमेरिकाभरिनै उनीहरूको पकड रहेको ताजा निर्वाचन परिणामले फेरि प्रमाणित गरिदिएको छ। शाहलाई केन्द्रमा सहयोग र समर्थन जुटाउन यी दुवै युवाले देखाएको तत्परता, योजनाबद्ध रणनीति र संगठन क्षमता उच्च प्रशंसा योग्य भएको देखिन्छ।
योगदानको कदर हुने निश्चित
सतेन्द्र शाहको अत्यधिक मतान्तरसहितको विजय मात्र होइन, अमेरिकाभरि नेपाली समाजमा एकता र नयाँ पुस्ताको शक्ति देखाउन कार्की–सिंह सफल भएका छन्।
त्यसैले, आगामी दिनमा पनि प्रिन्स युवराज कार्की र सुजित सिंहको योगदानको कदर हुने पक्का छ। अमेरिकास्थित एनआरएनए राजनीतिमा यी दुवै युवाले आफूलाई ‘किङ् मेकर’को रुपमा स्थापित गरिसकेका छन्।