काठमाडौं । कसैले भनिहाल्छ— जीवन भनेको संघर्षकै अर्को नाम हो । तर हेम बहादुर थापा “हेम थापा” को कथा सुन्दा त्यो भनाइ जीवन्त बन्छ । नेपालका तेह्रथुम मोराहाङ–९, सिकिदिममा जन्मेका हेम थापा आज अमेरिका बसेर लाखौं नेपालीलाई सेवा, सहयोग र आशाको आधार बनेका छन् । तर, यो मुकामसम्म पुग्न उनले भोगेका पीडा, यातना र संघर्ष सुन्दा सायद कसैको आँखा रस्छ, मन गल्छ र जिवनको वास्तविकतामा गहिरो सोच पैदा हुन्छ ।
कठिन बाल्यकाल : भोकै बस्दै हुर्किएको कथा
हेम थापा जन्मनु भएको परिवार गाउँकै सबैभन्दा गरीबमध्ये एक थियो । बुवा दीर्घ बहादुर थापा भैसी पालेर गुजारा चलाउनुहुन्थ्यो, आमा लक्ष्मी माया थापा खेतबारीमै पसिना बगाउनुहुन्थ्यो । तर, जीवनको कठिनाइलाई सामना गर्नुपर्ने जिम्मेवारी सानै उमेरदेखि हेम थापाले अनुभव गरे ।
उनलाई अझै सम्झना छ— करिब ४२ वर्षअघि, जब उनी १०–१२ वर्षका मात्र थिए, भारी हिमपातले बुबालाई लेक (गोठ) मा तीन दिनसम्म रोक्यो। घरमा खानेकुरो केही थिएन । बुबा आउन पाएनन्, आमा र बच्चाहरू भोकै बस्न बाध्य भए । “त्यो तीन दिन हामीले माटो खाएर जीवन जोगायौँ,” भनी अहिले पनि आँखामा आँसु लिएर उनी सम्झिन्छन् ।
पढाइ, गरीबी र आर्मीमा प्रवेश
हेम थापाले गाउँकै श्री सिद्धेश्वरी निमावी सिखीदिम मा कक्षा ८ सम्म पढे । त्यसपछि ९ र १० कक्षाका लागि श्री गौखुरी माध्यमिक विद्यालय गए । पढाइमा रुचि हुँदाहुँदै पनि गरिबीले उनलाई पढाइ भन्दा बढी परिवार पाल्ने बाटोतिर धकेल्यो ।
उनले पहिलो पटक नेपाल आर्मी मा भर्ती भए, तर केही महिना पछि भागे । पछि भारतीय सेनामा भर्ती भए, तर त्यहाँ पनि लामो टिक्न सकेनन् । जिन्दगी हरेक मोडमा उनलाई नयाँ संघर्षतर्फ धकेलिरह्यो ।
कतार र यूएईको श्रम यात्रा
विदेशिने निर्णय गरे— कतारमा ११ वर्ष बिताए, अनि यूएईमा दुई वर्ष । तर, त्यहाँ पनि जीवनले सजिलो बाटो देखाएन । दुबईबाट नेपाल फर्केपछि अझ ठूलो पीडाले उनलाई घे¥यो ।
अपहरण र यातना : जीवनको सबभन्दा कालो पन्ना
नेपाल फर्केपछि उनी माओवादी द्वन्द्वकालीन समयमा बारम्बार अपहरणमा परे।
• पहिलो पटक ७ दिनसम्म अपहरणमा राखियो,
• दोस्रो पटक १ दिन,
• तेस्रो पटक फेरि ७ दिनसम्म कठोर यातना सहनुपर्यो ।
माओवादीहरूले उनलाई लाल सेनालाई प्रशिक्षण दिनुपर्ने दबाब मात्र दिएनन्, असह्य यातना पनि दिए ।
“हात–खुट्टामा ब्लेडले चिरेर अकबरी खुर्सानी दलियो, २० वटै औंलामा पिन ठोकियो, एउटा कट्टुमा जंगल–जंगल हिँड्न बाध्य पारियो,” उनी सम्झन्छन् । यो पीडा सम्झँदा उनको आवाज अझै भरिन्छ ।
काठमाडौंको पीडा र आत्महत्यासम्मको सोच
यस्ता पीडा सहन नसकेपछि उनले परिवारसहित गाउँ छाडे र ८ हजारमा सोलार बेचेर काठमाडौं पुगे । तर, राजधानीमा जीवन अझ कष्टकर भयो ।
• भाडा तिर्न नसकेर घरबेटीले घरबाट निकालिदिएको पीडा,
• पेट पाल्न नसकेर बच्चाबच्चीलाई भोकै सुताउनुपर्ने अवस्था,
• अन्ततः “अब बाँच्न सक्दिन, मर्छु” भनेर विष बोकेर हिँडेको क्षण — यी सबै अनुभव आज पनि उनको जीवनको अमिट घाउ बनेर बसेको छ ।
“धेरै दिन बाटोमै कुकुरसँगै सुत्नुपर्यो,” उनी भन्छन्, “तर परिवारको सम्झनाले म विष खान सकिनँ, जिन्दगीसँग फेरि लड्न थालेँ।”
इजरायल हुँदै अमेरिका
संघर्षकै बीच उनले इजरायल जाने अवसर पाए। दुई वर्ष इजरायलमा बसेर अन्ततः जीवनको नयाँ मोडमा प्रवेश गरे— अमेरिका यात्रा। अहिले उनलाई अमेरिका बसेको १९ वर्ष भइसकेको छ ।
सफल परिवार र समाजसेवाको सुनौलो अध्याय
आज हेम थापाको परिवार सफलताको प्रतीक छः
• जेठो छोरा सुसील थापा – MBBS, Dentist
• कान्छो छोरा शुनिल थापा – American Army
• छोरी तुलसा थापा – MD, Cancer Specialist
• श्रीमती माया थापा – Beauty Parlor सञ्चालक
स्वयं हेम थापा अमेरिका मै ट्याक्सी ड्राइभर पेशामा छन्, तर समाजसेवामा उनले जे योगदान गरेका छन्, त्यो अकल्पनीय छ ।
३१ करोड ७० लाख समाजसेवामा
अमेरिका पुगेपछि पनि उनले आफ्नो पुरानो संकल्प—“गरिब र पीडितको सेवामा जीवन अर्पण गर्ने”—लाई निरन्तरता दिए ।
• ३१ करोड ७० लाख रुपैयाँभन्दा बढी सहयोग उनी समाजसेवामा खर्च गरिसकेका छन् ।
• भूकम्प पीडित, कोरोना महामारी पीडितदेखि
• उपचार नपाएका बिरामी,
• पढ्न नसकेका गरिब विद्यार्थी,
• विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारसम्ममा उनले खुलेर सहयोग गरे ।
त्यसैले, आज धेरै नेपालीहरूले उनलाई “भगवान जस्तै मान्छे” भनेर पुकार्छन् ।
अमेरिका भित्रका संघर्ष
अमेरिकामा पनि उनले पाँच पटक गाडी दुर्घटनाबाट ज्यान जोगाए, तीन पटक अपरेशन गराए । तर, हरेक चोटपटकले उनलाई अझै दृढ बनायो ।
श्रीमती माया थापाको पनि जीवन उतिकै संघर्षपूर्ण थियो— कुनै समय सुत्केरी हुँदा खान खान नपाएको पीडा अझै उनको मनमा ताजा छ । त्यसैले, दुवै श्रीमान–श्रीमती आज पनि गरिब र असहायलाई सहयोग गर्न सधैं अग्रसर हुन्छन् ।
निष्कर्ष : आँसु रसाउने जीवनकथा
हेम बहादुर थापा “हेम थापा” को कथा सुन्दा जीवनमा संघर्ष गर्नेलाई हिम्मत मिल्छ । गरिबी, भोक, अपहरण, यातना, आत्महत्याको सोच—यी सबै पार गरेर उनी आज हजारौं पीडितलाई आशा बाँड्ने जीवन्त प्रतीक बनेका छन् ।
उनको जीवनले एउटा मात्र सन्देश दिन्छ—“संघर्षलाई जितेर अघि बढ्ने मान्छे मात्रै अरुको जीवनमा उज्यालो फैलाउन सक्छ।”